
काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूहका सदस्य तथा भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले हालै दक्षिणी छिमेका भएका दुई भ्रमणबारे गम्भीर प्रश्न उठाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालको हालैको भारत भ्रमणका क्रममा नेपालका प्रमुख सीमा मुद्दा नउठाएको भन्दै उनले प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै आचार्यले नेपालबाट भएका यी दुई महत्वपूर्ण भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । तर पनि नेपालले निरन्तर उठाउँदै आएका लिम्पियाधुरा, कालापानी, लिपुलेक तथा सुस्तासम्बन्धी विषयमा कुनै सार्वजनिक चर्चा नभएको उनले उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘हालै नेपालबाट दुई महत्वपूर्ण भ्रमण (राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनाल) भारतमा भएका छन्। यसरी भ्रमण हुनु राम्रो कुरा हो। रवि र परराष्ट्रमन्त्रीलाई मिलेको स्वागत सत्कार पनि सकारात्मक छ। तर नेपालले उठाउँदै गरेका र उठाउनै पर्ने कुरा (लिम्पियाधुरा, कालापानी र लिपुलेक तथा सुस्तामा भारतीय अतिक्रमण) यी दुवै भ्रमणमा उठाइएनन्।’
आचार्यले जनमानसमा चासो र संसद्मा समेत बहसको विषय बनेका मुद्दामा बोल्न हिच्किचाएको देखिएको टिप्पणी गर्दै मित्र राष्ट्रहरूबीच यस्ता विषयमा खुला रूपमा कुरा हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
रास्वपा सभापति लामिछाने गत सोमबार भारत भ्रमणमा गएका थिए। नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्तापछि उनी लखनउ हुँदै अयोध्या पुगेका थिए। अयोध्यास्थित भगवान् श्रीराम मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेपछि उनी शुक्रबार स्वदेश फर्किएका हुन्।
उता परराष्ट्रमन्त्री खनाल पनि शुक्रबार नयाँदिल्ली पुगेका थिए। दुवै नेताको भ्रमणका क्रममा भारतसँगका सीमा विवादका विषयमा भएको छलफलबारे कुनै सार्वजनिक जानकारी नआएको अवस्थामा पूर्वराजदूत आचार्यको टिप्पणी आएको हो।