यो साता यी प्रदेशमा भारी वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

जेष्ठ ३०, २०८३

काठमाडौं । यो साता कोशी, मधेश, बागमती प्रदेशसम्म मनसुनी वायुको प्रभाव रहने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली भू-भागमा कोशी प्रदेशमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा थोरै स्थानहरूमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। त्यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साताभर मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।

पहाडी भू-भागमा कोशी प्रदेशमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशमा साताको सुरुमा केही स्थानहरूमा तथा मध्य र अन्त्यमा थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साताभर मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरुमा कोशी, बागमती, गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

तराई भू-भागमा कोशी प्रदेशमा साताभर केही स्थानहरूमा, मधेश,बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा थोरै स्थानहरू तथा अन्त्यमा एक-दुई स्थानमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा थोरै स्थानहरूमा तथा मध्य र अन्त्यमा स्थानमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरीसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरुमा कोशी, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

देशका हिमाली भू-भागमा अधिकतम र न्यूनतम् तापक्रम उल्लेख्य परिवर्तन नहुने तथा बाँकी भू-भागमा तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ। साताको अन्त्यमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ।

सरदरसँग तुलना गर्दा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ भने अधिकतम र न्यूनतम् तापक्रम सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जनाएको छ।


Published :जेष्ठ ३०, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media