सम्झौताको नजिक पुगे अमेरिका‑इरान

राष्ट्रपाटी न्युज

जेष्ठ ३१, २०८३

तेल अभिभ । युद्ध अन्त्य गर्न र हर्मुज जलडमरुमध्य खुला गर्नका लागि संयुक्त राज्य अमेरिका र इरान सम्झौताको नजिक पुगेका देखिन्छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शनिबार मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले हुन लागेको सम्झौता पहिलेको तुलनामा निकै नजिक पुगेको र आगामी २४ घण्टाभित्र यसलाई अन्तिम रूप दिइने अपेक्षा गरिएको बताएका छन् । पाकिस्तान यस सम्झौताको इलेक्ट्रोनिक हस्ताक्षरका लागि तयारी गरिरहेको छ, जसलगत्तै अर्को हप्ता प्राविधिक तहको वार्ता सुरु हुनेछ । यसअघि पनि यस्ता सहमति हुनै लागेका घोषणा गरिए तापनि तिनले मूर्तरूप पाउन सकेका थिएनन् ।
वार्तामा देखिएको यो सकारात्मक मोड यसै हप्ता इरानले अमेरिका र इजरायलसँग तीन दिनसम्म गरेको गोलाबारीपछि आएको हो, जसले यस क्षेत्रलाई पूर्ण रूपमा युद्धतर्फ धकेल्ने खतरा बढाएको थियो । अमेरिकी सेन्ट्रल कमाण्डले शुक्रबार अबेर सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै हर्मुज जलडमरुमध्यमा व्यापारिक जहाजहरूलाई निशाना बनाइरहेका इरानका कस्ता–कस्ता ड्रोनहरूलाई निष्क्रिय पारेको बताएको थियो ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा सुरु गरेको युद्धले मध्यपूर्वलाई अस्तव्यस्त बनाएको छ र फारसको खाडीबाट हुने तेल तथा प्राकृतिक ग्यासको ढुवानीलाई पूर्ण रूपमा ठप्प पारेको छ । अप्रिल ७ देखि भने त्यहाँ एउटा कमजोर युद्धविराम लागु रहेको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार दिएको जानकारी अनुसार प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ६० दिनभित्र इरानको आणविक कार्यक्रमसँग सम्बन्धित शर्तहरूलाई अन्तिम रूप दिइनेछ र सम्बद्ध पक्षहरूले चाहेमा सो अवधि बढाउन पनि सक्नेछन् । इरानको आणविक कार्यक्रम विवादको मुख्य विषय रहँदै आएको छ । अमेरिका र इजरायललाई यस कार्यक्रमले आणविक हतियार निर्माणतर्फ लैजान्छ भन्ने डर छ, जुन कुरालाई उनीहरूका नेताहरूले युद्धमा जानुको मुख्य कारण मानेका थिए । अर्कातर्फ, तेहरानले भने आफ्ना आणविक प्रयासहरू शान्तिपूर्ण प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ ।
ह्वाइट हाउसले तोकेको नियमअनुसार आफ्नो नाम गोप्य राख्ने शर्तमा पत्रकारहरूलाई जानकारी दिँदै एक वरिष्ठ अमेरिकी अधिकारीले शुक्रबार भनेका छन् कि यो नयाँ सम्झौताले तेहरानको उच्च संवर्धित युरेनियम नष्ट गर्ने वा हटाउने प्रक्रिया सुरु गर्नेछ । ती अधिकारीका अनुसार दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेपछिको ६० दिनको अवधि इरानको संवर्धित युरेनियम हटाउने प्राविधिक विवरणहरू मिलाउन प्रयोग गरिनेछ । गत वर्ष अमेरिकी हवाई आक्रमणबाट क्षतिग्रस्त भएका तीनवटा आणविक केन्द्रहरू भित्र रहेको ठानिएको उक्त युरेनियम हटाउने जिम्मेवारी कसले लिनेछ भन्नेबारे ती अधिकारीले स्पष्ट खुलाएनन् ।
अमेरिकी अधिकारीका अनुसार बन्दै गरेको यस सम्झौतामा हर्मुज जलडमरुमध्य पुनः सञ्चालनमा ल्याउने प्रावधानहरू पनि समावेश छन् । विदेशमन्त्री अराघचीले इरान यस्तो सम्झौता चाहन्छ जसले हर्मुज जलडमरुमध्य पार गर्ने जहाजहरूसँग ‘सेवा प्रदान गरेबापत’ शुल्क लिने अनुमति तेहरानलाई दिइयोस् । इरानले युद्धको समयमा त्यहाँ महशुल प्रणाली लागु गरेको छ, जसलाई अमेरिका र अन्य देशहरूले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन मान्दै आएका छन् । तेल र प्राकृतिक ग्यासको ढुवानीका लागि यो जलमार्ग निकै महŒवपूर्ण मानिन्छ । यसको अवरोधले विश्वव्यापी ऊर्जा आपूर्तिमा असर पारेको छ, इन्धनको मूल्य बढाएको छ र यस क्षेत्रभन्दा बाहिर पनि खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीहरू महँगो बनाएको छ ।
क्षेत्रीय अधिकारीहरूका अनुसार नयाँ सम्झौतामा इरानमाथि लगाइएका प्रतिबन्धहरू चरणबद्ध रूपमा हटाउने र रोक्का गरिएका इरानी सम्पत्तिहरू फुकुवा गर्ने कुरा पनि समेटिने अपेक्षा गरिएको छ । वार्ताको संवेदनशीलताका कारण ती अधिकारीहरूले आफ्नो नाम गोप्य राख्न चाहेका छन् । वासिङ्टन र तेहरानका अधिकारीहरूले स्वीकृत गरेपछि आगामी केही दिनभित्रै यस सम्झौताको हस्ताक्षर समारोह हुने अपेक्षा उनीहरूले गरेका छन् ।
इरानले सुरुदेखि नै कुनै पनि सम्झौतामा लेबनानको युद्धविराम पनि समावेश हुनुपर्ने अडान राख्दै आएको छ, जहाँ इजरायलले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहसँग लडाइँ गरिरहेको छ । तर, इजरायली रक्षामन्त्री इजरायल काट्जले शुक्रबार चेतावनी दिँदै इजरायलले अझै पनि इरानविरुद्ध स्वतन्त्र रूपमा कदम चाल्न सक्ने बताएका छन् । उनले इजरायलले लेबनान, सिरिया र गाजामा नियन्त्रणमा लिएका क्षेत्रहरूबाट आफ्ना सैनिक फिर्ता नगर्ने र इजरायली कब्जामा रहेको वेस्ट बैंकका उत्तरी शरणार्थी शिविरहरूबाट पनि पछि नहट्ने स्पष्ट पारेका छन् । यसैबीच, शनिबार पनि दक्षिणी लेबनानमा लडाइँ जारी रहेको छ । -एपी


Published :जेष्ठ ३१, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media