
काठमाडौँ । निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले क्युरासाओलाई पराजित गर्दै आइभोरी कोस्टले आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकपको नकआउट (अन्तिम ३२) चरणमा स्थान सुरक्षित गरेको छ । यसअघिका तीनवटा विश्वकप सहभागितामा समूह चरणबाटै बाहिरिएको आइभोरी कोस्टका लागि यो उपलब्धि ऐतिहासिक बनेको छ ।
समूह ‘ई’ को निर्णायक खेलमा नकआउट चरण पुग्न आइभोरी कोस्टलाई मात्र १ अङ्कको आवश्यकता थियो । तर, टोलीले खेलको सुरुदेखि नै दबाब बनायो । खेलको सातौँ मिनेटमै क्युरासाओका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै यान डियोमान्डेले खोसेको बलमा निकोलस पेपेले गोल गर्दै आइभोरी कोस्टलाई सुरुवाती अग्रता दिलाएका थिए ।
यस वर्षको अफ्रिका कप अफ नेसन्स टोलीमा नपरेका पूर्व आर्सनल फरवार्ड पेपेले खेलको ६५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । उनले बायाँ खुट्टाले प्रहार गरेको उत्कृष्ट सट क्युरासाओका गोलकिपर इलोय रुमलाई छलाउँदै पोस्टको माथिल्लो कुनामा भित्रिएको थियो ।
यो जितसँगै आइभोरी कोस्टले समूह ‘ई’ मा ६ अङ्क जोड्दै दोस्रो स्थान हासिल गर्यो । विश्वकपको एउटै संस्करणमा आइभोरी कोस्टले दुई खेल जितेको यो पहिलो पटक हो । ऐतिहासिक जितपछि मुख्य प्रशिक्षक इमर्स फाएले समर्थकलाई यो क्षणको उत्सव मनाउन आग्रह गर्दै टोलीमा बलियो एकता र स्वस्थ प्रतिस्पर्धा रहेको बताए ।