पानी नपर्दा सुक्न थाल्यो धान, किसान चिन्तित

राष्ट्रपाटी न्युज

असार १२, २०८३

घोडाघोडी (कैलाली) । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो । रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने हो । तर यसवर्ष कैलालीका अधिकांश किसानका लागि अवस्था त्यसको ठीकविपरीत बनेको छ ।

बोरिङको सहायताले रोपाइँ सम्पन्न गरे पनि लामो समयदेखि वर्षा नहुँदा खेतमा रोपिएका धानका बिरुवा सुक्न थालेका छन् । यसले किसानको चिन्ता दिनप्रतिदिन बढ्दै गएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–८ की किसान पार्वती केसी बिहान–बेलुका खेत पुगेर धानको अवस्था हेर्छिन् । समय–समयमा आकाशतिर हेर्दै वर्षाको प्रतीक्षा गर्नु अहिले उनको दैनिकी बनेको छ ।

“रोपाइँ त बोरिङको पानीले गरियो, तर त्यसपछि पानी नै परेन,” उनले  भनिन्, “धानका बिरुवा पहेँलिन थालेका छन् । अब केही दिनभित्र पानी परेन भने धेरै क्षति हुन्छ । मेहनत र लगानी सबै खेर जाने चिन्ता छ ।” उनका अनुसार अहिले बोरिङमा पानी आउँदैन जसका कारण सिँचाइ गर्न पनि समस्या छ ।

घोडाघोडी नगरपालिका–८ का अर्का किसान डम्बर विष्ट पनि हरेक दिन खेत पुगेर धानको अवस्था नियाल्छन्। उनले पनि अरूको बोरिङ प्रयोग गरेर प्रति घण्टा पाँच सय रुपैयाँ तिरेर रोपाइँ सम्पन्न गरेका थिए  ।   रोपाइँपछि एक पटक सिँचाइ गरे पनि वर्षा नहुँदा धान सुक्दै गएको उनी बताउँछन् ।

“बोरिङ चलाउँदा खर्च धेरै हुन्छ । डिजेल र बिजुली दुवै महँगो छ”, उनले भने, “कति पटक पानी हाल्ने ? पानी नपर्दा खेत सुक्दै गएको छ । अब वर्षा भएन भने उत्पादनमा ठूलो असर पर्छ ।”

घोडाघोडी नगरपालिका–८ का किसान देशराज चौधरीले यस वर्ष धानखेतीमा मल, बीउ, रोपाइँ र मजदुरीमा ठूलो लगानी गरिसकेको बताउनुभयो । तर समयमै वर्षा नहुँदा त्यो लगानी जोखिममा परेको उनको भनाइ छ ।

“हामीले खेती गर्नेबेला सबै खर्च गरिसक्यौँ”, उनले भने, “तर अहिले आकाशले साथ दिएको छैन । बोरिङबाट रोपाइँ गरियो, तर सिँचाइका लागि पटक–पटक बोरिङ चलाउन सक्ने अवस्था छैन । खर्च धान्नै गाह्रो भएको छ ।” उनका अनुसार भूमिगत पानीको सतह पनि घट्दै गएकाले पहिले सहजै पानी आउने बोरिङबाट अहिले पर्याप्त पानी आउन छाडेको छ । यसले किसानलाई थप समस्यामा पारेको छ ।

कैलालीका अधिकांश किसान बोरिङको भरमा धान रोप्ने गरेका छन् । तर रोपाइँपछि धानको वृद्धि र संरक्षणका लागि आवश्यक सिँचाइ भने वर्षाको पानीमै निर्भर रहने गरेको किसानहरू बताउँछन् । यस वर्ष असार लाग्दासमेत वर्षा नहुँदा खेतमा चिरा पर्न थालेका छन् भने धानका बिरुवाको वृद्धि रोकिएको छ । कतिपय ठाउँमा बिरुवा पहेँलिन थालेका छन् भने केही खेतमा सुक्न थालेको छ ।

रामु बूढाथोकीका अनुसार सुरुमा बोरिङको पानीले सहजै रोपाइँ सम्पन्न भए पनि अहिले बोरिङमा पानी नै आउन छाडेको छ । “पहिले केही घण्टा चलाउँदा पुग्ने पानी आउँथ्यो”, उनले भने, “अहिले घण्टौँ मोटर चलाउँदा पनि खेतमा पानी पुग्दैन । यस्तो अवस्था रहिरहे धान जोगाउनै मुस्किल हुन्छ ।”

किसानको अहिलेको मुख्य समस्या केवल वर्षा नहुनु मात्र होइन, सिँचाइको बढ्दो लागत पनि हो । बोरिङ सञ्चालन गर्न डिजेल वा विद्युतको खर्च बढेकाले सबै किसानले आवश्यकताअनुसार पानी हाल्न सकेका छैनन् । त्यसको प्रत्यक्ष असर धानबालीमा देखिन थालेको छ ।
खडेरीका बीच पनि कैलालीका किसान धान रोपाइँमा व्यस्त छन् । नहर, खोला तथा बोरिङबाट उपलब्ध सीमित पानीको भरमा उनीहरूले रोपाइँ गरिरहेका छन् । घोडाघोडी नगरपालिका–३ का किसान भीम चौधरीका अनुसार वर्षा नहुँदा रोपाइँ गर्न कठिन भए पनि धेरै दिनअघि राखिएको धानको बिउ छिप्पिन थालेकाले बाध्य भएर रोपाइँ गर्नुपरेको हो ।

“बीउ राखेको धेरै समय भइसक्यो, अब झन् ढिलो ग-यौँ भने बीउ बिग्रिन्छ,” उनले भने, “त्यसैले महँगो खर्च गरेर भए पनि बोरिङ र नहरको पानीको भरमा रोपाइँ गरिरहेका छौँ । अब समयमै पानी परे मात्रै बाली जोगिन्छ ।”

स्थानीय किसान समयमै पर्याप्त वर्षा भए अझै पनि धान जोगाउन सकिने आशामा छन् । अहिले कैलालीका किसानको एउटै अपेक्षा छ । समयमै पर्याप्त वर्षा होस् र खेतमा रोपिएका धानका बिरुवाले फेरि हरियाली फर्काउन सकुन् ।

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार जिल्लामा यहाँ वार्षिक करिब ६३ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । त्यसमध्ये करिब तीन प्रतिशत क्षेत्रफलमा चैते धान खेती गरिन्छ । यस वर्ष पर्याप्त वर्षा नहुँदा अधिकांश किसानले सिँचाइका वैकल्पिक स्रोतको भरमा रोपाइँ गरिरहेका छन् भने रोपाइँ सम्पन्न भएका खेतमा पनि धानका बिरुवा सुक्न थालेपछि किसानको चिन्ता बढ्दै गएको छ । रासस


Published :असार १२, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media