
विराटनगर । विराटनगरका नेपाली कांग्रेसका नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शनिबार बिहान उनको निवासमा छापा मारेर नियन्त्रणमा लिएको हो ।
मोरङ प्रहरीकाअनुसार गिरीलाई कारागारभित्र अवैध असुली धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको हो । बिहानैदेखि प्रहरीले उनको घरलाई घेरा हालेर खानतलासी गरेको थियो ।
गिरी यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पटक-पटक विवादमा पर्दै आएका व्यक्ति हुन् । अपहरण मुद्दामा कारागारमा रहेका बेला पनि उनीमाथि विभिन्न विवादास्पद गतिविधिमा संलग्न रहेको आरोप लागेको थियो ।
कैद भुक्तानपछि रिहा भएका गिरी पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । उनीमाथि कारागारभित्र रहेका कैदीबन्दीबाट रकम असुली गर्ने तथा उनीहरूको भत्ता अपचलन गरेको आरोप लागेको छ।
यद्यपि गिरीले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै राजनीतिक प्रतिशोधका आधारमा आफूलाई फसाउन खोजिएको प्रतिक्रिया दिएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।