
काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आइभरी कोस्टलाई पराजित गर्दै नर्वे प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ ।
अमेरिकाको डलास रङ्गशालामा बुधबार भएको रोमाञ्चक खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले स्तब्ध पारेको हो । अब क्वार्टरफाइनल प्रवेशका लागि नर्वेले उपाधि दाबेदार ब्राजिलको सामना गर्नेछ ।
खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको आइभरी कोस्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७४औँ मिनेटमा अमाद डियाल्लोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
खेल बराबरीको दिशातिर धकेलिरहेका बेला ८६औँ मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हालान्डले गोल गर्दै नर्वेलाई २–१ को निर्णायक अग्रता दिलाए । बाँकी समयमा थप गोल हुन नसकेपछि नर्वेले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्यो ।