
काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा इजिप्टले अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म खेल १–१ को बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । सुटआउटमा इजिप्टका सबै चार खेलाडीले गोल गर्दा अष्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरीङ्टनको प्रहार असफल भएपछि अष्ट्रेलियाको यात्रा समाप्त भयो ।
डलासमा भएको खेलको १३औँ मिनेटमा इमाम आशुरले हेडरमार्फत गोल गर्दै इजिप्टलाई अग्रता दिलाउनुभयो । दोस्रो हाफमा भने मोहम्मद हानीबाट भएको आत्मघाती गोलका कारण अष्ट्रेलियाले खेल बराबरीमा ल्याएको थियो । त्यसपछि दुवै टोलीले अतिरिक्त समयमा गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।
निर्णायक पेनाल्टी होसाम अब्देलमाजिदले सफलतापूर्वक गोलमा परिणत गर्दै इजिप्टलाई ऐतिहासिक जित दिलाउनुभयो । यो इजिप्टको विश्वकप नकआउट चरणमा पहिलो जित पनि हो । टोलीका कप्तान मोहम्मद सलाहले यो उपलब्धिलाई देशका लागि ऐतिहासिक क्षण भएको बताउनुभएको छ ।
यस जितसँगै इजिप्टले अन्तिम १६ मा अर्जेन्टिना र केप भर्डेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। पराजित अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।