सरकारका गलत कामविरुद्ध आन्दोलन गर्ने प्रचण्डको चेतावनी

राष्ट्रपाटी न्युज

असार २०, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत कामका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

शनिबार रुपन्देहीको बुटवलमा नेकपा लुम्बिनी प्रदेश समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिले सरकारले गलत काम गर्दा पनि कसैले बोल्ने आँट नगरेको भन्दै नेकपा केही महिनापछि आन्दोलनमा जाने चेतावनी दिएका हुन्।

नेकपा ‘बोल्ने बेला आउला’ भनेर बसिरहेको उल्लेख गर्दै प्रचण्डले आवश्यक परे बोल्ने मात्रै नभइ राम्रोसँग लड्ने तर्क गरे। प्रचण्डले भदौ २३ र २४ गते सुशासन लगायत राम्रो उद्देश्यको निम्ति आन्दोलन भएको नभइ ठूलो डिजाइन र षडयन्त्र अन्तर्गत नेपालको भू–राजनीतिमाथि हस्तक्षेप गरेर भारत र चीनलाई कन्ट्रोल गर्ने र बेस बनाउने इन्डो–प्यासिफिक स्ट्राटेजी अन्तर्गत भएको हो भन्ने बुझ्न गाह्रो नरहेको बताए।

त्यस्तै प्रचण्डले नेकपा नेतृत्व र आफूमाथि पार्टी भित्रैबाट अपमानित गर्न खोजेको भन्दै असन्तुष्टि जनाए। उनले मूल नेतृत्व इतिहास, आन्दोलन र संघर्षले बनाउने भएकाले कसैले बनाउने वा हटाउने कुरा नभएको जिकिर गरे।

राजनीतिक, सांगठनिक कार्यशैली सबै छलफल गरेर उचित नेतृत्व तयार भए आफू छाड्न तयार भएको उनको भनाइ छ। उनले अहिले कुनै पार्टीसँगको एकताको चर्चा गर्नुभन्दा पनि महाधिवेशनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए।


Published :असार २०, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media