
काठमाडौँ । उपाधिको बलियो दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको फिलाडेल्फिया रंगशालामा सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम आठको यात्रा तय गरेको हो ।
फ्रान्सको जितमा स्टार स्ट्राइकर किलियन एम्बाप्पेले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा फ्रान्सले पेनाल्टीमार्फत अग्रता लिएको थियो, जसलाई एम्बाप्पेले सहजै जाली चुमाए ।
यसअघिका सुरुवाती चार खेलमा कम्तीमा तीन गोल गर्दै आएको आक्रामक फ्रान्सेली टोलीलाई आज अनुशासित र रक्षात्मक रणनीतिका साथ मैदान उत्रिएको पाराग्वेले निकै कडा टक्कर दिएको थियो । फ्रान्सले जितका लागि निकै संघर्ष गर्नुपर्यो ।
खेल अवधिभर ७६ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको फ्रान्सले विपक्षीको पोस्टमा १५ पटक प्रहार गरेको थियो । खेलमा फ्रान्सले ५ सय ५२ पास खेल्दा पाराग्वेले भने मात्र १ सय ७५ पास पूरा गर्न सक्यो । पाराग्वेले खेलभर जम्मा ५ पटक मात्र प्रहारको प्रयास गरेको थियो ।
अब क्वाटरफाइनलमा फ्रान्सले मोरोक्कोको सामना गर्नेछ ।