फिफा विश्वकपः पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश

राष्ट्रपाटी न्युज

असार २३, २०८३

काठमाडौँ । वैकल्पिक खेलाडी मिकेल मेरिनोले इन्जुरी समयको पहिलो मिनेट (९०+१ औं मिनेट) मा गरेको नाटकीय गोलको मद्दतले स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति डलास स्टेडियममा भएको रोमाञ्चक तथा कडा प्रतिस्पर्धात्मक अन्तिम १६ को खेलमा स्पेनले चिरपरिचित प्रतिद्वन्द्वी पोर्चुगललाई १–० ले स्तब्ध पारेको हो ।

यो पराजयसँगै पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको विश्वकप खेल जीवन दुःखद अन्त्य भएको छ । खेलको दोस्रो हाफमा मैदान छिरेका फेरान टोरेस र मिकेल मेरिनोको उत्कृष्ट तालमेलमा स्पेनले निर्णायक अग्रता लिएको थियो ।

टोरेसको पासलाई सदुपयोग गर्दै मेरिनोले बललाई पोस्टको दिशा दिएका थिए । पहिलो हाफमा दुवै टोलीले केही गतिला अवसर सिर्जना गरे पनि गोल गर्न चुकेका थिए । पोर्चुगलका नुनो मेन्डिसको प्रहार क्रसब्याकमा लागेर बाहिरिएको थियो भने स्पेनका मिकेल ओयार्जाबालले पनि गोलको सुनौलो अवसर गुमाएका थिए ।


Published :असार २३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media