
काठमाडौं । काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा एक पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आत्मदाहको प्रयास गर्ने व्यक्ति ४५ वर्षीय अश्विन राउत रहेको खुलेको छ । उनी हाल वीर अस्पतालमा उपचाररत छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार राउतको आफ्नै छोरासँग विवाद भएको थियो । त्यसपछि उनी डेराको भान्सामा गएर शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका थिए । घटनालगत्तै उनलाई उद्धार गरी उपचारका लागि वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
अस्पतालका अनुसार राउतको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ । उनको अवस्था चिकित्सकको निगरानीमा रहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।