गणेश नेपाली आत्मदाह प्रकरणः सडकदेखि सदनसम्म आक्रोश र प्रदर्शन

राष्ट्रपाटी न्युज

असार २७, २०८३

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्की आत्मदाह प्रयास गरे । महानगर प्रहरीले आफ्नो बाइकमा ह्वील लक र जरिवाना लगाएको तनावका कारण आत्मदाह प्रयास गरेका पठाओ चालक नेपालीको वीर अस्पतालमा उपचारका क्रममा दुखद निधन भयो ।

५५ देखि ६० प्रतिशत शरीर जलेका नेपालीको शुक्रबार अस्पतालमा मृत्यु भयो । यो घटना सार्वजनिक भएलगत्तै सडकदेखि सदनसम्म आक्रोश पोखियो ।

घटना असार २५ गते बिहीबार दिउँसोको हो, जब मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई काठमाडौँमा पठाओ चलाउने गणेश नेपाली राहदानी विभाग अगाडि आफ्नो पल्सर मोटरसाइकल रोकेर बसेका थिए । सोही क्रममा काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले उनको बाइकमा ह्वील लक लगाए । सडकभन्दा केही माथि उठाइएको ठाउँमा बाइक राख्दा पनि लक लगाइएको र अन्य बाइकलाई छाडेर आफ्नोमा मात्र किन कारबाही गरियो भन्दै गणेशले नगर प्रहरीसँग विवाद गरेका थिए ।

परिवारका अनुसार अघिल्लो हप्ता मात्रै उनले १ हजार रुपैयाँ जरिवाना तिरेका थिए । पुन: जरिवाना तिर्नुपर्ने दबाबका कारण मानसिक तनावमा परेका नेपालीले विवादकै बीच मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाए । घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार उनले आगो लगाउन खोज्दा पनि नगर प्रहरीले रोक्न प्रयास नगरी उल्टै बाइक उठाएर लैजान खोजेका थिए, यसबाट उनी थप तनावमा परेका थिए ।

संसद्मा चर्को विरोधपछि गृहमन्त्रीको जवाफ

गणेश नेपालीको मृत्युको विषयलाई लिएर संसद्‌मा सांसदहरूले सरकारमाथि चर्को आवाज उठाएपछि गृहमन्त्री सुधन गुरुङले भावुक हुँदै जवाफ दिएका छन् । उनले यो घटनामा संघीय सरकारको प्रत्यक्ष भूमिका नरहेको र महानगर प्रहरीले कारबाही गर्दा घटना घटेकोतर्फ संकेत गरे । सरकारले उनलाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारतको नयाँदिल्लीस्थित ‘एम्स’ अस्पताल लैजाने सम्पूर्ण तयारी पूरा गरे पनि चिकित्सकहरूले स्वास्थ्य अवस्था अस्थिर रहेको भन्दै स्थानान्तरण नगर्न सुझाव दिएको उनले संसद्‌लाई जानकारी दिए ।

गृहमन्त्री गुरुङले संसद्‌मा सांसदहरूलाई आफू स्टन्टबाजी गर्न नभई देशको सेवा गर्न आएको दाबी गरे । घटनाको निष्पक्ष छानबिनका लागि डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ भने घटनामा संलग्न ३ जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ ।

वीर अस्पताल परिसरमा आक्रोश र प्रदर्शन

गणेश नेपालीको मृत्युको खबर सार्वजनिक हुनासाथ वीर अस्पताल परिसरमा आक्रोश र तनावगस्त बन्यो । मृतकका आफन्त, पठाओ चालक र सर्वसाधारणले अस्पताल अगाडि टायर बालेर प्रदर्शन गर्दै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका थिए । आन्दोलनकारीहरूले जलेको बिरामीलाई कीर्तिपुरस्थित विशिष्टीकृत बर्न अस्पताल लैजानुको साटो वीर अस्पतालमै राखेर राज्यले लापरबाही गरेको र समयमै सही उपचार नपाउँदा उनको मृत्यु भएको आरोप लगाए । स्थिति नियन्त्रण बाहिर जान नदिन अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी  परिचालन गरिएको थियो ।

माइतीघरमा विद्यार्थी संगठनको पनि विरोध प्रदर्शन

आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको मृत्युको घटनालाई लिएर संयुक्त विद्यार्थी संगठनले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरूले गणेश नेपालीको मृत्युको निष्पक्ष छानबिन गर्न, दोषीमाथि कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिन माग गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले “गणेश नेपालीको हत्यारा बालेन सरकार हो”, “गणेश नेपालीलाई न्याय दे” लगायतका नाराबाजी गर्दै काठमाडौं महानगरपालिका नेतृत्व र सरकारप्रति आक्रोश व्यक्त गरेका थिए।

प्रदर्शनका क्रममा केहीबेर प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको थियो । प्रदर्शनकारीहरू अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेको थियो । केही समय तनावपूर्ण अवस्था सिर्जना भए पनि स्थिति पछि सामान्य बनेको थियो ।

संयुक्त विद्यार्थी संगठनले गणेश नेपालीको मृत्युबारे निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, जिम्मेवार पक्षमाथि कानुनी कारबाही गर्न तथा यस्ता घटना दोहोरिन नदिने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ।

प्रदर्शनमा विभिन्न विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

परिवारको दयनीय आर्थिक अवस्था र महानगरको राहत

गणेश नेपाली मुगुको विकट गाउँबाट काठमाडौँमा श्रम गरेर परिवार पाल्न आएका परिवरका एक्लो व्यक्ति हुन् । उनी भक्तपुरमा श्रीमती र सानी छोरीका साथ डेरा गरी बस्दै आएका थिए । पारिवारिक स्रोतका अनुसार मुगुको जग्गा लालपुर्जा धितो राखेर किस्ताबन्दीमा बाइक निकालेको तीन महिना मात्र भएको थियो । अस्पतालमा औषधि किन्न समेत खल्तीमा पैसा नभएर नागरिकता धितो राख्नुपर्ने दयनीय अवस्था परिवारले भोगेको थियो।

चौतर्फी दबाब र आलोचनापछि काठमाडौँ महानगरपालिकाले विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ । महानगरले मृतकका परिवारलाई मानवीय सहायता उपलब्ध गराउने, श्रीमतीलाई योग्यता अनुसारको रोजगारी दिने र छोरीलाई नि:शुल्क शिक्षाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

सरकार फेरियो, नियति फेरिएन

यो घटना केवल एउटा दुर्घटना वा आत्महत्या मात्र होइन, बरु यो हाम्रो राज्य प्रणाली, प्रशासनिक असंवेदनशीलता र आर्थिक संकटको ऐना हो । सहरलाई व्यवस्थित बनाउने नाममा महानगरपालिकाले लिने नीति र नगर प्रहरीको व्यवहार तल्लो तहका गरिब तथा निम्नवर्गीय व्यक्ति र स्वरोजगार श्रमिकहरूका लागि अभिशाप प्रमाणित भइरहेको छ । कानुनको पालना गराउँदा मानवीय संवेदना र परिस्थिति मूल्याङ्कन नगरिँदा एक युवाले ज्यान गुमाउनुपर्‍यो ।

संसद्‌मा गृहमन्त्रीले दिएको अभिव्यक्ति र क्षेत्राधिकारको बाहानाले राज्य नागरिकको अभिभावक बन्न नसकेको प्रष्ट पार्छ । नागरिकको जिउज्यानको रक्षा गर्ने प्राथमिक दायित्व स्थानीय सरकारको होस् या केन्द्र सरकारको, उनीहरू एकअर्कामाथि दोष दिएर उम्कन ।

व्यवस्था र प्रणाली बदल्ने नारा दिएर सत्तामा पुगेका नयाँ राजनीतिक शक्तिहरू आज आफैँ कुर्सीमा छन् । तर, एउटा गरिखाने युवाले फेरि उस्तै नियति भोग्नुपर्ने अवस्थाले राजनीतिक नाराहरू केवल भाषण मात्र हुन् र यसले नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सकेको छैन भन्ने प्रमाणित हुन्छ ।

देशभित्रै श्रम गरेर खान खोज्ने युवाहरूले दैनिक रूपमा भोग्नुपर्ने प्रशासनिक सास्ती, महँगो जरिवाना र आर्थिक अभावले उनीहरू डिप्रेसन र निराशाको खाडलमा परिरहेका छन् । जरिवाना र कर असुलीलाई मात्र सफलता ठान्ने नीति राज्य सरकारले नबदलेसम्म यस्ता कारुणिक घटनाहरु घटिरहने निश्चित छ ।


Published :असार २७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media