१५ सयभन्दा बढीको सहभागितामा रिलायन्स कलेजको ‘करियर टक-२०८३’ सम्पन्न

राष्ट्रपाटी न्युज

असार ३०, २०८३

काठमाडौँ । रिलायन्स कलेजले स्नातक तहमा भर्ना हुने विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरेको वार्षिक कार्यक्रम ‘रिलायन्स करियर टक–२०८३’ आइतबार सम्पन्न भएको छ।

कक्षा १२ को परीक्षा उत्तीर्ण गरी ‘अब के पढ्ने, कुन कलेज र विषय रोज्ने तथा बजारमा विषयगत सम्भावना र चुनौती के-कस्ता छन्’ भन्ने अन्याैलमा रहेका विद्यार्थीहरूलाई परामर्श दिने उद्देश्यले कलेजले उक्त कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न कलेजबाट १५ सयभन्दा बढी विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको कलेज प्रशासनले जनाएको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा ‘भविष्यका सम्भावना र करियरका अवसर’ विषयमा एक विशेष अन्तरक्रियात्मक प्यानल छलफल सञ्चालन गरिएको थियो।

पूर्व मिस नेपाल सुगरिका केसीले सहजीकरण गरेको उक्त छलफलमा सीएनएन हिरो एवं सामाजिक अभियन्ता पुष्पा बस्नेत, नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवाली, तथा रिगो नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मुकुन्द पोखरेल प्यानलिस्टका रूपमा सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्र जंग थापाले करियर टक कार्यक्रमले विद्यार्थीलाई उच्च शिक्षा, रोजगारी र उद्यमशीलतासम्बन्धी व्यावहारिक जानकारी प्रदान गर्दै भविष्यको करियर छनोटमा ठोस सहयोग पुग्ने विश्वास व्यक्त गरे।

करियर टकलाई थप प्रभावकारी र आकर्षक बनाउन कलेज परिसरमा १३ वटा विभिन्न स्टलहरू राखिएका थिए। जसमा करियर परामर्श तथा भर्ना डेस्क, खाद्य तथा रिफ्रेसमेन्ट स्टल, एवं संगीत तथा मनोरञ्जन डेस्कहरू समावेश थिए।

विद्यार्थीहरूले आफूलाई मन परेको संकाय र विषयबारे विज्ञहरूबाट प्रत्यक्ष परामर्श लिनुका साथै विविध गतिविधमा सहभागी भई मनोरञ्जन समेत लिएका थिए।

कार्यक्रममा कलेजले हाल सञ्चालन गरिरहेका विभिन्न कोर्षहरू : बीबीएस, बीबीए, बीए, बीएसडब्लुए, बीसीए, बीएससी सीएसआईटी, एमबीएस, एमबीए तथा सीएलगायतका शैक्षिक कार्यक्रमहरूबारे उपस्थित विद्यार्थी तथा अभिभावकहरूलाई विस्तृत जानकारी गराइएको थियो।

 


Published :असार ३०, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media