
काठमाडौं । बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री जयराम थापाले रास्वपा सांसद राजीव खत्रीले भ्रम फैलाएको आरोप लगाएका छन्। मन्त्री थापाले सांसद खत्रीको अभिव्यक्ति संघीय संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खत्रीले नयाँ ड्राइभिङ लाइसेन्स लिन, वर्ग थप गर्न वा नवीकरण गर्न स्वास्थ्य परीक्षण अनिवार्य गरेर चलखेल गरेको आरोप लगाएका थिए।
मन्त्री थापाले भनेका छन्, ‘त्यस्तो अभिव्यक्ति पूर्णतः कपोलकल्पित मात्र छैन, प्रदेश सरकारलाई संविधानद्वारा प्रदत्त अधिकारमाथि ठाडो हस्तक्षेपको प्रयत्न पनि हो । त्यति मात्र होइन, प्रदेश सभाद्वारा निर्मित ऐन कानुनको अधीनमा रही भइरहेको सेवा प्रवाह प्रभावित पारी केही व्यक्ति र समूहको निहित स्वार्थ पूरा गर्न मनसाय सो अभिव्यक्तिका निहित छ कि भन्ने आशङ्का उत्पन्न भएको छ । संविधानले तीन तहका सरकारको व्यवस्था गरेको छ। तीन वटै तहका सरकारका एकल तथा संयुक्त अधिकार संविधानमै स्पष्ट उल्लेख छन्।’
संघीय संसद् जस्तो गरिमामय संवैधानिक पदिय जिम्मेवारी रहेको व्यक्तिले संविधानको यति जानकारीसमेत राखेको छैन ? भन्दै प्रश्न गरेका छन्।
खत्रीले प्रतिनिधिसभाको बैठकमा नयाँ ड्राइभिङ लाइसेन्स लिन, वर्ग थप गर्न वा नवीकरण गर्न स्वास्थ्य परीक्षण अनिवार्य गरेको विषय राखेका थिए । उनले भनेका थिए, ‘अहिले यही प्रावधानको आडमा लुटको धन्दा छ। बिचौलियालाई स्वास्थ्य नै धन भएको छ। यातायात कार्यालयमै घण्टौँसम्म लाइनमा बसी उसले तोकेको स्वास्थ्यकर्मीबाट सेवा लिनुपर्ने बाध्यता छ। जबकि केही महिना अघिसम्म स्वास्थ्य परीक्षण गरेबापत यातायात कार्यालय एकान्तकुनाले निःशुल्क, भक्तपुरले ५०, चाबहिलले ५५ रुपैयाँ लिने गरेको थियो। तर अहिले शुल्क वृद्धि गरी १७५ लिने गरेको छ।’

