लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि स्वदेश फर्कदै छुः देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि आफू स्वदेश फर्किन लागेको बताएका छन् ।

जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा जारी सन्देशमा उनले पछिल्ला राजनीतिक घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रतिशोधको राजनीतिविरुद्ध सबै लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले बिपी कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र मेलमिलापका उनका विचारहरू आज पनि आफ्नो राजनीतिक यात्राको मार्गदर्शक रहेको उल्लेख गरेका छन् ।  बिपीको नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्न पाउनु आफ्नो जीवनकै ठूलो सौभाग्य भएको बताउँदै उनले लोकतान्त्रिक मूल्य, मान्यता र जनअधिकारको पक्षमा आफ्नो अडान सधैँ कायम रहेको धारणा व्यक्त गरे ।

उनले विगत छ दशकभन्दा बढी समय नेपाली कांग्रेसको साधारण कार्यकर्तादेखि पार्टी नेतृत्वसम्मको यात्रामा निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिविरुद्ध निरन्तर संघर्ष गरेको उल्लेख गरेका छन् । जेल जीवन, राजनीतिक प्रतिबन्ध र दमनका बीच पनि लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको उनको भनाइ छ।

देउवाले नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्नुका साथै शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्पपछिको पुनर्निर्माण तथा कोभिड–१९ महामारीका बेला जिम्मेवार भूमिका निर्वाह गरेको स्मरण गरेका छन् ।

स्वास्थ्य उपचारका क्रममा केही महिनादेखि परिवारसहित विदेशमा रहे पनि आफ्नो ध्यान निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको उनले उल्लेख गरेका छन् ।

पछिल्ला राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै देउवाले फरक विचारप्रतिको असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन तथा प्रतिपक्षलाई दबाउने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि अस्वीकार्य रहेको बताए । उनले यस्तो संस्कृतिको विरोध गर्नु नेपाली कांग्रेसको ऐतिहासिक दायित्व भएको उल्लेख गरेका छन ।

देउवाले सरकारमाथि प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाएको आरोप लगाउँदै स्वतन्त्र न्यायपालिका, संवैधानिक निकाय तथा लोकतान्त्रिक संस्थामाथि दबाब सिर्जना गर्ने संकेत देखिएको दाबी गरेका छन् । न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखेर प्रतिपक्षलाई आतंकित गर्ने प्रयास भइरहेको उनको आरोप छ।

उनले वर्तमान अवस्थामा देशलाई विभाजन होइन एकता, अविश्वास होइन विश्वास र प्रतिशोध होइन सहकार्य आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय संवाद र साझा सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

सन्देशको अन्त्यमा देउवाले लोकतन्त्र, राष्ट्रियता, समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, युवा पुस्ता र आम नेपालीलाई आह्वान गर्दै आफू स्वदेश फर्किन लागेको घोषणा गरेका छन् ।


Published :साउन ५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media