सामाजिक सद्भावका लागि सक्रिय हुन पूर्वी जिल्लाका सांसदहरुलाई रास्वपाको निर्देशन

राष्ट्रपाटी न्युज

साउन १४, २०८३

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरी, सिरहा लगायत पूर्वी जिल्लाका आफ्ना सांसदहरूलाई गृह जिल्ला फर्केर बढ्दो तनाव न्यूनीकरण गर्न तथा सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।

बिहीबार सिंहदरबारमा आयोजित मधेश र कोशी प्रदेशका सांसदहरूको बैठकमा पार्टी सभापति रवि लामिछानेले धार्मिक तथा साम्प्रदायिक सद्भाव कुनै पनि अवस्थामा खलबलिन नदिन पार्टी गम्भीर रहेको बताउँदै सबै सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा पुगेर जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद रहबर अन्सारीले पार्टीको निर्देशनअनुसार सबै सांसदहरू आ–आफ्नो गृह जिल्ला फर्किने तयारीमा रहेको जानकारी दिए । उनका अनुसार रास्वपाले राज्यका हरेक नागरिकलाई एउटै परिवारका सदस्यका रूपमा हेर्ने स्पष्ट नीति लिएको छ र कुनै पनि नागरिक वा समुदायमाथि आइपर्ने समस्याप्रति पार्टी संवेदनशील रहने बताए ।

उहाँले धार्मिक, जातीय वा साम्प्रदायिक भावनामा ठेस पुग्ने, द्वेष फैलाउने तथा हिंसा भड्काउने कुनै पनि प्रकारका अभिव्यक्ति नदिन सबै नागरिकसँग आग्रह पनि गर्नुभयो।

सांसद अन्सारीले भने, “राज्यका हरेक नागरिक एउटै परिवार हुन् भन्ने कुरामा पार्टी स्पष्ट छ। कुनै पनि नागरिक वा समुदायमाथि कुनै प्रकारको आपत्ति आइपरे पार्टी त्यसप्रति गम्भीर हुन्छ। सभापतिज्यूले सबै सांसदहरूलाई आ–आफ्नो जिल्लामा फर्केर समन्वयकारी भूमिका खेल्न, सामाजिक सद्भावको सन्देश प्रवाह गर्न र उत्पन्न परिस्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गर्न सक्रिय हुन स्पष्ट निर्देशन दिनुभएको छ। सोहीअनुसार हामी आ–आफ्नो जिल्ला पुगेर राज्यका सम्बन्धित संयन्त्रसँग आवश्यक समन्वय गर्नेछौँ।”

सुनसरी, सिरहा लगायत पूर्वी नेपालका केही जिल्लामा पछिल्ला दिनदेखि देखिएको धार्मिक तथा सामुदायिक तनावका बीच रास्वपाले आफ्ना जनप्रतिनिधिहरूलाई स्थानीय तहमा पुगेर संवाद, समन्वय र सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न निर्देशन दिएको हो ।


Published :साउन १४, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media