कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय मूल आयोजक समिति घोषणा

राष्ट्रपाटी न्युज

साउन १६, २०८३

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ। शनिबार सो समूहको सम्पर्क कार्यालय चूनदेवीमा पत्रकार सम्मेलन गर्दै कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको जनाएको हो। मूल आयोजक समितिसहित १६ वटा विभिन्न उपसमिति पनि बनाइएको नेता कोइरालाले जानकारी दिए।

हरेक चुनौतीमा सामना गर्न सक्ने वैचारिक, नीतिगत एवं संगठन, संगठनात्मक दृष्टिले नयाँ र स्पष्ट कार्यदिशा सहित पार्टीलाई सबल र सक्षम बनाउने उद्देश्यले भेलाको आयोजना गरिएको उनले बताए। भेलामा पार्टी भित्रको वर्तमान अवस्था, मुलुकमा देखिएको राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म–सांस्कृतिक लगायतका नागरिक जीवनसँग जोडिएको विविध गम्भीर सवालहरूमा गहन छलफल हुने नेता कोइरालाले बताए।

उनले पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास, धैर्यता र पहल गर्दा गर्दै पनि पदिय जिम्मेवारीमा रहेका नेताहरूबाट सार्थक भूमिका नदेखिएपछि पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं शुभचिन्तकहरुमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको उल्लेख गरे।

साथै उनले लोकतान्त्रिक संविधान माथि प्रहार भइरहेको र धार्मिक तथा साम्प्रदायिक द्वन्द्वका घटनाहरू दिन प्रतिदिन बढिरहेको अवस्थामा राष्ट्रिय एकताको खाँचो रहेको बताए। उनले सुनसरी लगायतका स्थानमा भएको घटनाका घाइतेहरूको उचित स्वास्थ्योपचारको व्यवस्था गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरे।

संस्थापन इतर समूहले राजनीतिक स्थिरता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न हरेक पार्टी भित्रको बलियो एकता सहित राष्ट्रिय राजनीतिक शक्तिहरू बीच आपसी सहमति र सहकार्यको टड्कारो आवश्यकता देखिएको जनाएको छ। कांग्रेस संस्थापन इतर पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला गर्ने यसअघि नै निर्णय गरिसकेको छ।

भेलामा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी सदस्यहरू, पूर्व केन्द्रीय पदाधिकारी सदस्यहरू लगायत सबैलाई सहभागी हुन समेत इतर समूहले आग्रह गरेको छ।


Published :साउन १६, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media