बाढी तथा पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेश जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार भदौ ८ गते बिहान ६:२० बजेसम्म कोशी र बागमती प्रदेशका प्रमुख सडक खण्ड प्रभावित बनेका छन्।

कोशी प्रदेशको भोजपुरस्थित मध्य पहाडी लोकमाग अन्तर्गत भोजपुर नगरपालिका-५ बोखिममा बाढीका कारण सडक प्रभावित भए पनि अर्को वैकल्पिक बाटोसहित एकतर्फी रूपमा यातायात सुचारु छ। त्यस्तै, मेची राजमार्ग अन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण झापा-ताप्लेजुङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यहाँ वैकल्पिक मार्ग भने उपलब्ध रहेको जनाइएको छ।

बागमती प्रदेशमा सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गहरूमा आंशिक तथा रात्रिकालीन आवागमनमा रोक लगाइएको छ। बि.पि. राजमार्ग (खुर्कोट-नेपालथोक-कटञ्जेबैंसी) खण्डमा साँझ १८ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको विचार गरी मात्र सवारी सुचारु गराइनेछ।

कान्तिलोकपथ (हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर) र टोखा-छहरे सडक खण्ड (शिवपुरी-८ घट्टेखोला) मा पनि सम्भावित जोखिमका कारण साँझदेखि बिहानसम्म रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी-२ कोदारी र लिपिङमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा बन्द छ। रसुवाको उत्तरगया-५ खाल्टे (त्रिशुली मैलुङ स्याफ्रुवेशी खण्ड) मा बाढीका कारण र गोसाइँकुण्ड-२ स्याउ पार्किङ (पासाङ ल्हामु सडक खण्ड) मा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।


Published :भदौ ८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media