बागमती । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौँ–तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
आयोजनाअन्तर्गत मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माणाधिन महादेवटार सुरुङको आज आयोजित ब्रेक थ्रुु समारोहलाई सम्बोधन गर्दै उनले सरकारले यस आयोजनाको काम तीन वर्षभन्दा बढी अगाडि बढेको हेर्न नचाहेको बताए ।
द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गरिने उनले बताए । लचकता अपनाउँदै व्यवसायीहरूलाई पटक–पटक अवसर र सुविधा दिए पनि त्यसको अपेक्षित परिणाम आउन नसकेको उल्लेख गर्दै उनले निर्धारित समयभित्र काम नसकिने अवस्था देखिए तत्काल ठेक्का अन्त्य गर्न निर्देशन दिए ।
हाल काम गर्ने मुख्य सिजन सुरु भइसकेको बताउँदै उनले आगामी जेठसम्म निर्धारित कार्यतालिकाअनुसार ठोस प्रगति हासिल हुनुपर्ने धारणा राखे । द्रुतमार्गलाई केवल सडक निर्माणमा मात्र सीमित नराखी नेपाली प्राविधिक जनशक्ति उत्पादन र अनुभव अभिवृद्धिको ठूूलो अवसरका रूपमा समेत लिइएको बताउँदै उहाँले आयोजनामा खटिएका नेपाली इन्जिनियर, परामर्शदाता, सुपरभाइजर तथा नेपाली सेनाका प्राविधिकहरू भविष्यका ठूला पूर्वाधार निर्माणका लागि देशकै अमूल्य सम्पत्ति बन्ने बताए । यस्ता प्रकृतिका आयोजना बढाउने सरकारको तयारी रहेको उनले बताए ।
विपद् व्यवस्थापनका साथै छोटो समयमै ‘बेली ब्रिज’ निर्माणमा सेनाले देखाएको कार्यक्षमताको प्रशंसा गर्दै पूर्वाधार विकासमन्त्री लम्सालले आगामी दिनमा नेपाल सरकारले नेपाली सेनालाई अन्य धेरै आयोजनाहरूमा सहभागी गराउने बताए ।

