प्रदीप रुगटा पक्राउ नपरेको विरोधमा आज चितवन बन्द

राष्ट्रपाटी न्युज

बैशाख २३, २०८०

चितवन । पोल्ट्री व्यावसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा नाम जोडिएका प्रदीप रुगटा पक्राउ नपरेको भन्दै आज (शनिबार) चितवन बन्द गरिएको छ। शंकर कँडेल न्यायिक संघर्ष समितिले चितवन बन्द गरेको हो।

बन्दको प्रभाव राजमार्ग क्षेत्रमा परेको छ । राजमार्गमा ठूला सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द आह्वान गरिएको हो । नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन् ।

पश्चिमबाट आउने सवारी साधनलाई गैंडाकोटमा नै रोकिएका छन् । मुग्लिनबाट आउने सवारी साधनलाई जुगेडीसम्म आउन दिइएको छ । तर, केही बन्दकर्ता मुग्लिनमा समेत देखिएकोले सहज भने छैन ।

पोल्ट्री व्यवसायी कँडेलले अनमोल फिड्सको आफ्नै कार्यालयमा मंगलबार झुण्डिएर आत्महत्या गरेका थिए । उनले लेखेको सुसाइड नोटमा फिड्सका ८५ प्रतिशत शेयर होल्डर प्रदीप रुगटा र कम्पनीका चार्टड एकाउन्टेन्ट जीवन रावलकै कारण आफूले आत्महत्या गरेको उल्लेख गरेका थिए ।

परिवारले दुवै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा किटानी जाहेरी दिएका छन् । उनीहरु विरुद्ध पक्राउ पूर्जीसमेत जारी गरिएको छ ।


Published :बैशाख २३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media