खप्तडको विकासका लागि सरकार नयाँ परियोजनामार्फत् अगाडि बढ्छः प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपाटी न्युज

जेष्ठ २३, २०८०

डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रको समग्र विकासका लागि सरकारले नयाँ परियोजनामार्फत् अगाडि बढ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

खप्तडमा मंगलबारदेखि सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्र डोटी, अछाम, बझाङ र बाजुराको संगम स्थलका रूपमा रहेको र यो सुदूरपश्चिमको प्रमुख पर्यटकीय केन्द्र रहेकाले यसको विकासका लागि नयाँ परियोजना सञ्चालन गरेर सरकार अगाडि बढ्ने बताए ।

उनले खप्तड क्षेत्र प्रकृति र आध्यात्मिकताको संगम क्षेत्र रहेकाले सुदूरपश्चिमको लागि यो आर्थिक समृद्धिको केन्द्र हुनसक्ने बताए। भारतलगायत विभिन्न देशका प्रतिनिधिको उपस्थिति रहेकाले खप्तडको महत्व अन्तर्राष्ट्रिय स्तरमा स्थापित भएको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमको विकासका लागि पहिलेको भन्दा अलि फरक ढंगबाट ध्यान केन्द्रित गरेको बताए। क्याबिनेटबाट सुदूरपश्चिममा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि निर्णय गर्ने कुरादेखि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्न भरखरै भारत सरकारसँग समेत कुरा भएकाले यहाँको विकासलाई देशको अग्रणी क्षेत्रको रुपमा अगाडि लगिने प्रचण्डले बताए ।


Published :जेष्ठ २३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media