मन्त्री बस्नेत र प्रधानसेनापति शर्माद्वारा मेलम्ची बेलिब्रिजको उद्घाटन

राष्ट्रपाटी न्युज

असार २२, २०८०

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले विशेष समारोहबीच सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० र ११ जोड्ने इन्द्रावति नदीमाथि निर्माण गरिएको मेलम्ची बेलिबृजको शुक्रबार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

मेलम्ची पुल बजारमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि यहाँका स्थानियबासीले धेरै सास्ती बेहोर्नु परेको अवस्थामा नेपाली सेनाको सहयोगमा मेलम्ची बेलीबृज छोटो समयमै निर्माण भएकोमा खुशी व्यक्त गरे ।

मेलम्ची बेलीबृज निर्माणमा समेत राजनीतिक दलहरूले किचलो गरेर निर्माण कार्य पर धकेल्ने अवस्था सिर्जना गरेको बेला आफूले नेपाली सेनाका प्रधान सेनापति लगायत उच्च अधिकारीलाई भेटेर समयमै पुल बनाइदिन आग्रह गरेपछि नेपाली सेनाले जनचाहना अनुसार समयमै बेलीबृज बनाइदिएर ठूलो गुन लगाएको मन्त्री बस्नेतले बताए ।

उनले प्राकृतिक विपत्तिका बेला सधै नेपाली सेनाले जनतालाई सहयोग गरेको स्मरण गर्दै स्थानिय बासिन्दाका अन्य समस्याभन्दा बेलीबृज सबै भन्दा पहिले बनाइहाल्नु पर्ने आवश्यकता भएकाले यसलाई पहिलो प्राथमिकतामा राखेर काम सम्पन्न गरेको बताए ।

जनताका पक्षमा आफूले सधैँ काम गरेकै परिणामस्वरुप मतदाताले आफूलाई गत निर्वाचनमा १२ हजार भन्दा बढी मतान्तरले विजयी बनाएको स्मरण गर्दै मन्त्री बस्नेतले सिन्धुपाल्चोक र मेलम्चीको विकासका लागि आफूले बाग्मती प्रदेशका मुख्य मन्त्री र मन्त्रीहरुसँग पनि सहकार्य गरेर बढीभन्दा बढी योजना ल्याउन पहल गरेको दाबी गरे । बेलीबृजले जिल्लावासीको आवतजावतका साथै आर्थिक र समाजिक दृष्टिले पनि जनजिवन सहज बनाउने मन्त्री बस्नेतले बताए ।

कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना सधै नेपाली जनताको सुख दुखमा साथ दिदै आइरहेको बताउँदै मेलम्ची बेली ब्रिज निर्माण पनि यसकै एक ज्वलन्त उदाहरण भएको बताए । प्रधान सेनापति शर्माले नेपाली सेना नेपाली जनताको साझा सम्पति भएको बताउँदै सेनाले सधै जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गरिरहेकोमा जोड दिए ।

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङले स्वास्थ्य मन्त्री बस्नेतको अथक प्रयास र दृढ संकल्पका कारण मेलम्ची बेलीवृज समयमै सम्पन्न भएकोमा जोड दिँदै नेपाली सेनाको सहयोग स्मरणीय रहेको बताए ।

उद्घाटन कार्यक्रममा सिन्धुपाल्चोकका विभिन्न नगरपालिका, गाउँपालिकाका पदाधिकारी, सरकारी अधिकारी, राजनीतिक दलका नेता, कार्यक्रर्ताहरु, नागरिक समाज र सर्वसाधारणको उपस्थिति थियो ।


Published :असार २२, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media