बाँकेमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु, २५ घाइते

नेपालगन्ज । पूर्व पश्चिम राजमार्गमा बाँकेको शम्शेरगन्ज नजिक बस दुर्घटना हुँदा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बेतहनीका सात जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख इन्सपेक्टर गोपीकृष्ण सुवेदीका अनुसार अनुसार दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी ८ शम्शेरगन्ज नजिक बिग्रेर सडक छेउमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग शुक्रबार राति ९:११ मा ठोक्किँदा बसमा सवार ४१ जनामध्ये चार पुरुष र तीन महिलाको मृत्यु भएको हो ।

प्रमुख सुवेदीका अनुसार मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका वडा ९ को बेतहनी सामुदायिक वन समितिको पदाधिकारी सहितको भ्रमण टोली दाङको धारापानी पुगेर बर्दिया फर्किने क्रममा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा ठाकुरबाबा–९  की ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीय काँशीराम थारू, ५० वर्षीया रूपा परियार, ३५ वर्षीया जयन्ती थारू, ६५ वर्षीय साधुराम चौधरी, बस चालक ४५ वर्षीय जुबहादुर चन्द (ठाकुरबाबा–८ ) र ३५ वर्षीय गाडी सहचालक रहेका छन् । सह चालकको भने पहिचान खुलेको छैन ।

बसमा सवार ४१ जनामध्ये २ जना गम्भीर, १२ जना मध्यम, १५ जना सामान्य घातइते भएको प्रहरीले जनाएको छ ।

 


Published :भदौ २३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media