नेपालगञ्जको निषेधाज्ञा खुकुलो 

राष्ट्रपाटी न्युज

अशोज १८, २०८०

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा खुकुलो बनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आज बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जानकारी दिए ।

उपमहानगर क्षेत्रभित्र मङ्गलबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएकोमा राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म उपमहानगर क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहनाकाको चार किल्लामा निषेधाज्ञा आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ ।

स्थानीय प्रशासन ऐनको दफा ३(क) बमोजिम चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, प्रचारप्रसार सामग्री टास्न वा लेख्न नपाइने र हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकैठाँउमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानवअधिकारको सम्मान गर्न अनुरोध गर्दै स्थानीय प्रशासनले सार्वजनिक स्थानमा होहल्ला गर्नेजस्ता अवाञ्छित क्रियाकलाप तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पार्ने खालका कार्य नगर्न र नगराउन अपिलसमेत गरेको छ ।


Published :अशोज १८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media