उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बन्दै

राष्ट्रपाटी न्युज

कार्तिक ४, २०८०

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ। जनवादी चीनको भ्रमणका क्रममा रहँदा यही कात्तिक १ गते हृदयाघात भएपछि उनी बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत छन्।

उपप्रधानमन्त्री श्रेष्ठ आज बिहानदेखि अस्पतालभित्रै सामान्य हिँडडुल गर्न थालेका उनका स्वीकय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए। हृदयाघात भएपछि उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ।

यसैबीच उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ समकक्षी एवं चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङले अस्पतालमा भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। यसअघि सार्वजनिक सुरक्षामन्त्री वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय विभागका निर्देशक पेङ सीउ सानले उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरी पूर्णस्वास्थ्य लाभको कामना गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्नो प्रतिनिधि पठाएर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेका स्वकीय सचिव श्रेष्ठले जानकारी दिए। चीन सरकारले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा उच्च प्राथमिकता दिएको छ।

तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ बनेका थिए।


Published :कार्तिक ४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media