मुगुमा एकै परिवारका चारजना मृत अवस्थामा फेला

राष्ट्रपाटी न्युज

कार्तिक १०, २०८०

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–६ स्थित  मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा फेला पर्नेमा छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र  आठ महिनाका छोरा रहर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

उनले घटनाको खबर पाउनासाथ आज बिहान ११ बजे  घटनास्थलमा प्रहरी पुगेको बताए । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ । हत्याको आशंका गरिएका चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको छ ।

श्रीदेवी श्रीमान् वैदेशिक रोजगारीमा रहेको बताइएको छ । घटनाको अनुसन्धान जारी रहेको प्रनाउ थापाले बताए ।

प्रारम्भिक अनुसन्धानअनुसार श्रीदेवी छोराछोरीसहित यही कात्तिक  ७ गते बिहान दसैँको टीका थाप्न सोही वडा स्थित कोटिल्ला माइती गाउँ गएकी थिइन् ।  यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

छिमेकीहरुले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् भन्ने अनुमान लगाएका थिए ।  १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरूले फेरि श्रीदेवी माइती गएकी भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले आज बिहान १० बजेतिर ढोकाको ताला फोडेर भित्र हेर्दा चारैजनाको हत्या भएको जनाइएको छ ।


Published :कार्तिक १०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media