नेपाल एयरलाइन्सको जहाजमा प्राविधिक समस्या, सिमकोटमै रोकियो जहाज

राष्ट्रपाटी न्युज

कार्तिक २७, २०८०

हुम्ला । सिमकोटबाट नेपालगन्जका लागि उडान भर्ने क्रममा जहाजमा प्राविधिक समस्या आएपछि नेपाल एयरलाइन्सको ट्वीनीटर जहाज सिमकोट विमानस्थलमै रोकिएको छ ।

अचानक जहाजको बायाँ इन्जिनमा खराबी आउँदा जहाज सिमकोट विमानस्थलमै रोकिनु परेको हो ।

नेपालगन्जका लागि चौध जना यात्रुहरू भरेर एउटा ईन्जिनीन सञ्चालन गरेर अर्को इन्जिन सञ्चालन गर्दा उक्त इन्जिन सञ्चालन नभएपछि जहाजमा प्राविधिक समस्या आएको नेपाल एयरलाइन्स सिमकोट स्टेसनका प्रमुख बलराज हमालले जानकारी दिए ।

नाईन एन एबियु कलसाईनको ट्वीनीटर जहाज नेपालगन्जबाट सिमकोटका लागि सोमबार बिहान चौध जना यात्रु बोकेर सिमकोट विमान स्थलमा अवतरण गरेको थियो । उनले यात्रु सबै विमानभित्र पसेको र पाइलटहरूले विमान सञ्चालन गर्ने क्रममा इन्जिन सञ्चालनमा नआउँदा समस्या देखिएको बताए ।

उक्त इन्जिनको तल पट्टीबाट समेत इन्धन चुहिएको थियो । पटक पटक चालक दलका सदस्यहरूले इन्जिन सञ्चालन गर्ने प्रयास गर्दा नभएपछि यात्रुहरूलाई झारिएको थियो ।

जहाजमा प्राविधिक समस्या आएपछि वरिष्ठ क्याप्टेन मनिस बिष्ट, कोपाईलट र एयरहोस्टेज समेत सिमकोटमा रहनेछन् । नेपाल एयरलाइन्स नेपालगन्जका सहायक बलबहादुर सुनारले मङ्गलवार दुई जना प्राविधिक आएर मर्मतपछि मात्र जहाजका बारेमा भन्न सकिने बताए ।

सोमबार प्राविधिक ल्याउने प्रयास गरिएको भए पनि त्यो सफल हुन सकेको थिएन । झारिएका यात्रुहरूको टिकट भाडा अब फिर्ता गरिनेछ । उक्त जहाजमा एकजना बिरामी महिलासमेत रहेकी छिन ।


Published :कार्तिक २७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media