सरकारलाई सही ट्र्याकमा फर्किन जेनजी मुभमेन्टको चेतावनी

काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जना शहीदको स्मरण गर्दै न्याय, जवाफदेहिता र छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

जेनजी मुभमेन्ट नेपालका रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी त्यसका सिफारिस कार्यान्वयन गर्न माग गरिएको छ।

त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका सम्बन्धमा गरेको छानबिन प्रतिवेदन पनि सार्वजनिक गर्नुपर्ने माग संगठनले अघि सारेको छ।

आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने भन्दै मुभमेन्टले आन्दोलनलाई योजनाबद्ध रूपमा हिंसा तथा मुठभेडतर्फ धकेल्ने, हिंसा भड्काउने वा राज्य र नागरिकबीच द्वन्द्व सिर्जना गर्ने कार्यमा संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।

त्यसैगरी, भदौ २४ गते भएका आगजनी, तोडफोड, हिंसा तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिबारे निष्पक्ष अनुसन्धान गरी दोषी प्रमाणित भएकामाथि कानुनी कारबाही गर्नुपर्ने उसको माग छ।

जेनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेका तर कुनै गम्भीर अपराधमा संलग्न नभएका नागरिक तथा युवालाई तत्काल रिहा गर्न पनि मुभमेन्टले माग गरेको छ।

दोषी र निर्दोष छुट्याउने आधार निष्पक्ष अनुसन्धान र न्यायिक परीक्षण हुनुपर्ने भन्दै सामूहिक दण्ड तथा प्रतिशोध स्वीकार्य नहुने उसले स्पष्ट पारेको छ।


Published :भदौ २३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media