कांग्रेस महाधिवेशनः वडा अधिवेशन असोज ३ र ४ गते हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आगामी असोज ३ र ४ गते हुने भएको छ।

कांग्रेसले यसअघि भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर रसुवाको भोटेकोशीमा आएको बाढीका कारण अधिवेशनको मिति केही पर सारिएको हो।

कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै असोज ३ र ४ गते देशभरका ६ हजार ७४३ वडामा अधिवेशन गर्ने जानकारी दिएका छन्। सोही क्रममा वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिसमेत चयन हुनेछन् ।

निर्वाचन समितिका अनुसार आगामी असोज ७ गते गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन हुनेछ। त्यस्तै, असोज १० गते प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ।

कांग्रेसको केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने तय भएको छ।

संयोजक खड्काका अनुसार बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने तोकिएका निर्वाचन अधिकृत र पार्टीका स्थानीय तहका नेतृत्वबीच समन्वय गरी अधिवेशन सम्पन्न गरिनेछ।

त्यस्तै, नेपाली जनसम्पर्क समितिका बाँकी अधिवेशन असोज १० गतेभित्र सम्पन्न गर्ने कार्यतालिका रहेको उनले जानकारी दिएका छन्।

जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तथा निर्वाचन कार्यतालिका भने दोस्रो चरणमा प्रकाशित गरिने संयोजक खड्काले बताएका छन् ।


Published :भदौ २३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media