मन्त्रिमण्डल पुनर्गठन : ओली- प्रचण्डको लगातार छलफल निष्कर्षहीन

राष्ट्रपाटी न्युज

१२ आश्विन २०७७

सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सोमबारको छलफल पनि विनानिष्कर्ष सकिएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा साढे दुई घन्टा चलेको छलफलले कुनै पनि निष्कर्ष निकाल्न नसकेको स्रोतले जनाएको छ ।

दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनर्गठनकै विषयमा केन्द्रित रहेर छलफल भएको भए पनि उक्त छलफल कुनै पनि टुंगोमा पुग्न नसकेको हो ।

बालुवाटार उच्च स्रोतका अनुसार आजको छलफलमा मन्त्रालय बाँडफाँडमा समूहगत भागबन्डा हुने विषयले समेत प्रवेश पाएको छ । अर्थात् पार्टी एकीकरणअघि एमाले र माओवादी समूहका लागि निर्धारण गरिएको ६०–४० को अनुपातअनुसार मन्त्रीहरू समावेश गर्नुपर्ने प्रस्ताव दाहालले राखेका थिए ।

आजको छलफलमा दाहालले यो विषयलाई जोड दिएर उठाएको स्रोतले जनाएको छ ।

तर, अध्यक्ष ओलीले भने पार्टी एकताको भावनालाई खण्डित हुने गरी भागबन्डा गर्न उचित नहुने अडान लिएको स्रोतले जनाएको छ ।

साथै दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनर्गठन गर्दा फेरिने मन्त्रीहरूको संख्या र मन्त्रालयबारे पनि कुरा मिलेको छैन ।

अध्यक्ष दाहाल भने अधिकांश मन्त्रीहरू फेरेर नयाँ अनुहार ल्याउने रणनीतिअनुसार छलफलमा केन्द्रित भएका थिए । अध्यक्ष ओलीले भने आफ्नो टिम सहज हुने गरी परिवर्तन गर्न चाहेको बुझिएको छ ।

गत ६ भदौयता आधा दर्जनपटक मन्त्रिमण्डल पुनर्गठनकै विषयमा नै केन्द्रित रहेर दुई अध्यक्षबीच छलफलमा भए पनि निष्कर्ष भने निस्कन सकेको छैन ।


Published :१२ आश्विन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media