खुमलटारमा प्रधानमन्त्री र अध्यक्ष दाहालबीच भेट

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार बिहान पनि छलफल भएको छ ।

अध्यक्ष दाहालको निवास खुमलटारमा उहाँहरुबीच भेट भएको हो । शुक्रबार साँझ पनि प्रधानमन्त्री ओलीसँग अध्यक्ष दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नुभएको थियो । भेटको बीचमा उपाध्यक्ष वामदेव गौतम पनि छलफलमा सहभागी हुनुभएको थियो ।


पछिल्लो पटक सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सन्दर्भमा नै नेकपाभित्र बहस जारी छ । बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले मङ्गलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सङ्घीय संसद्को विशेष अधिवेशनको माग राखी पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको आवेदन दुवै फिर्ता लिने निर्णय गरेको थियो ।

नेकपा स्थायी कमिटीको अर्को बैठक आइतबार बस्दैछ ।

करिव डेढ घण्टा कार्यकारी अध्यक्ष दाहाललाई भेटेर खुमलटारबाट निस्कनुभएका प्रधानमन्त्री ओली गृहमन्त्री रामवहादुर थापा ‘बादल’लाई भेट्न मन्त्री निवास पुल्चोक जानुभएको थियो ।


Published :४ पुष २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media