निर्वाचनमा केन्द्रित हुन प्रधानमन्त्रीको आग्रह, आयोग पदाधिकारीसँग छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अब निर्वाचन गराउने तयारीमा भएको उल्लेख गर्दै निर्वाचन आयोगलाई निर्वाचनमा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र २ जना निर्वाचन आयुक्तसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नु हुँदै प्रधानमन्त्री ओलीले निर्वाचन सञ्चालन गर्न आवश्यक स्रोतसाधन उपलब्ध गराउने बताउनुभयो । संविधान र कानून बमोजिम स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न आवश्यक वातावरण नेपाल सरकारले तयार गर्ने पनि प्रधानमन्त्रीले बताउनुभएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो । सो छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ रहनुभएको उहाँले बताउनुभयो ।

थपलियाले आयोगका तर्फबाट निर्वाचन २ चरणमा भन्दा एकै चरणमा गर्दा व्यवस्थापन सहज र खर्च कम हुने सुझाव राखेको पनि उल्लेख गर्नुभयो । साथै आम सहभागिताको वातावरण नेपाल सरकार लगायत सम्बद्ध निकायहरुबाट मिलाइदिएमा सजिलो हुने सुझाव प्रधानमन्त्री समक्ष आयोगका तर्फबाट राखिएको जानकारी उहाँले दिनुभयो ।

कानूनले तोकेअनुसार भोलिदेखि आयोग निर्वाचनको तयारीमा लाग्ने उहाँले बताउनुभयो ।


Published :५ पुष २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media