
काठमाडौँ । दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन खस्दा तीन जना बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ। घटनामा अन्य ४० जना घाइते भएका छन् ।
रुसको क्रास्नोदार क्षेत्रका गभर्नर वेनियामिन कोन्द्रात्येभका अनुसार घाइतेमध्ये १७ जनाको अस्पतालमा उपचार भइरहेको छ। उनले युक्रेनले जानीजानी सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन्। युक्रेनले भने यस घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।
सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा पर्यटकहरू किनार र पानीमा भइरहेका बेला तीव्र गतिमा आएको ड्रोन भिरनजिकै ठोक्किएर आगोको गोलामा परिणत भएको देखिन्छ। काला सागरनजिकैको आर्खिपो-ओसिपोभ्का गाउँनजिक रहेको उक्त स्थान रुसी पर्यटकहरूका लागि लोकप्रिय गन्तव्य मानिन्छ। प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणअघि कुनै खतराको साइरन बजेको थिएन।