एमालेका चार नेतामाथिको कारबाही फुकुवा, राजिनामा रोक्न वकिलहरु सक्रिय

राष्ट्रपाटी न्युज

३० बैशाख २०७८

काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ ।आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो ।

पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो ।पार्टीको वृहत्तर एकतालाई ध्यानमा राखेर बैठकले चार नेतामाथिको ६ महिनाको निलम्बन फुकुवा गरिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।नेम्वाङले राष्ट्रिय राजनीतिक अवस्थालाई समेत विश्लेषण गरेर पार्टी र सरकार सम्बन्धी अरु सबै निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष केपी ओलीलाई दिएको बताए ।यसैबीच नेकपा एमालेका माधव पक्षीय सांसदको राजीनामा रोक्न नेपाल निकट वकिलहरु समेत सक्रिय भएका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूले आश्वासन दिइसकेको भन्दै नेपालले राजीनामाबाट पछि हट्न आनाकानी गरेपछि वरिष्ठ अधिवक्ता शम्भु थापासहित तीन जना संविधानविद् सक्रिय भएका हुन् ।

नेपाललाई अर्थमन्त्री विष्णु पौडेलले भेटेर फर्किएलगत्तै वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष शम्भु थापा, बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई र गोविन्द बन्दी नेपाल निवास कोटेश्वर पुगेका छन् ।नेपाललाई राजीनामा भन्दा मध्यमार्गी बाटोबाट एमालेभित्रै समाधान खोज्न उनीहरूले सुझाव दिएको स्रोतले जनाएको छ ।


Published :३० बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media