लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान जारी

राष्ट्रपाटी न्युज

१७ जेष्ठ २०७८

बुटवल- लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मतदान जारी छ । निर्धारित समय बिहान ९ बजेदेखि मतदान शुरु भएको हो । मुख्यमन्त्री शङ्कर पोखरेलले सबैभन्दा पहिला मतदान गरेका छन् । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीलगायत उपसभामुख, अन्य मन्त्रीहरुले मतदान गरेका छन् ।

अन्य प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख,उपप्रमुखले मतदान गर्ने कार्य जारी छ । निर्वाचन आयोगले मतदान स्थलमा भर्चुअल माध्यमबाट पनि हेर्न सकिने व्यवस्था मिलाएको छ ।

आयोगले मतपरिणाम पनि भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए।

निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ । प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो ।

निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहनुभएको छ । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुन् ।


Published :१७ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media