माधव गुटका चार नेता ओली क्याम्पमा जान सक्ने

राष्ट्रपाटी न्युज

२४ जेष्ठ २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध गराउन पूर्ववत् अवस्थामा फर्किने घोषणा गरेपछि माधव नेपाल समूह विभाजित भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन आफू तयार रहेको बताएपछि नेपाल समूहका नेताहरुको फरक मत सार्वजनिक गरेका छन् । नेपाल समूहका अधिकांश युवा नेताहरु ओलीको कदम सकारात्मक भएको भन्दै पार्टीलाई एकताबद्ध गराउनुपर्ने पक्षमा रहेका छन् ।

सोही विषयमा छलफल गर्न नेपाल समूहका चार जना युवा नेताहरुको छुट्टै बैठक बसेको छ । नेपाल समूहका नेता सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टबीच सोमबार बिहान छलफल भएको हो । नेता पाण्डेको निवासमा भएको छलफलमा पार्टीलाई एकताबद्ध बनाउँदै असन्तुष्ट विषयहरुलाई पार्टीभित्रै अन्तरसंघर्ष गर्ने निष्कर्षमा पुगेका हुन् ।

नेताहरुले आफ्ना मागअनुसार पार्टी अध्यक्ष ओलीको प्रस्ताव आएकाले यसलाई सकारात्मक रुपमा लिएर एकताको पक्षमा उभिनुपर्ने निष्कर्ष निकालेका हुन् । ‘पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउने निर्णय सकारात्मक छ । यो हामीले माग गरेअनुसार हो । असहमति भएका विषयलाई पार्टीभित्रै छलफल गर्नेगरी एकताको पक्षमा उभिने सहमति भयो’, बैठकमा सहभागी एक नेताले भने । नेपाल समूहका अधिकांश नेताहरुले प्रधानमन्त्री अ‍ोलीले यसअघि पनि पटकपटक धोका दिएकाले अहिले पनि विश्वास गर्ने कुनै आधार नभएको बताउँदै आएपछि चार नेता छुट्टै छलफलमा जुटेका हुन् ।

नेपाल समूहका करिब १२ जना नेता एकताको पक्षमा उभिएका छन् । जसमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, नारायण खतिवडा, दीपक भट्ट, गणेश पहाडी, राजबहादुर बुढा लगायतका नेताहरु एकताको पक्षमा छन् । उनीहरुले माधव नेपाल नआएपनि आफुहरु मूल पार्टीमा फर्किनुपर्ने निष्कर्ष निकालेका छन् । उक्त बैठकले पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने अध्यक्ष ओलीको घोषणालाई सकारात्मक रुपमा लिँदै एमालेमै बस्ने निष्कर्ष निकालेको हो ।

स्रोत – हाम्रो इकोनोमी


Published :२४ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media