इंग्ल्याण्ड ५५ वर्षपछि युरो २०२० को फाइनलमा

एजेन्सी । युरोपियन च्याम्पियनसिप २०२० को दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा पराजित गरी इंग्ल्याण्डले इटलीसँगको फाइनल भेट निश्चित गरेको छ ।

घरेलु मैदान वेम्बलीमा कठिन प्रतिस्पर्धाबाट हासिल यो सफलताले इंग्ल्याण्डलाई ५५ वर्षपछि मुख्य फुटबल प्रतियोगिताको उपाधि नजिक पुर्‍याएको छ । सन् १९६६ मा विश्वकप उपाधि जितेयता इंग्ल्याण्ड उपाधिविहीन छ भने युरोमा त पहिलोपल्ट फाइनलमा पुग्न सकेको हो ।

मिक्केल ड्याम्सगार्डले शानदार फ्रिकिकमार्फत ३० औं मिनेटमा डेनमार्कलाई अग्रता दिलाएका थिए । तर ३९ औं मिनेटमा बुकायो साकाको प्रहार क्लियर गर्न लाग्दा डेनिस कप्तान सिमोक कजायरले आफ्नै पोष्टमा गोल गर्न पुगेपछि खेल बराबरीमा आयो ।

निर्धारित समयमा दुवैले १–१ को बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समय थपिएको हो । १ सय ४ मिनेटमा इंग्ल्याण्डले पेनाल्टी पायो ।

ह्यारी केनको प्रहार डेनिस गोलरक्षक कास्पर स्माइकल्सले रोकेका थिए । तर रिवाउण्ड बलमा केनले नै गोल गर्न सफल रहे । यही गोलले इंग्ल्याण्डलाई युरो इतिहासमै पहिलोपल्ट फाइनलमा पुर्‍यायो ।

पहिलो खेलमै मुख्य खेलाडी क्रिष्टियन इरिक्सन हृदयघातबाट मैदानमै ढलेपछि धर्मराएको डेनमार्क सुरुआती दुई खेलमा पराजित रहे पनि समूह चरण पार गर्ने भाग्यमानी टोली बनेको थियो ।

सन् १९९२ को च्याम्पियन टोलीले यस संस्करणमा अप्रत्यासित प्रदर्शनको यात्रा सेमिफाइनलमा आएर टुंगिएको छ । सेमिफाइनलमा पराजित रहे पनि उनीहरु शीर ठाडो पार्न सक्नेछन् । डेनिस टोलीको आक्रामक क्षमता र गोलरक्षक स्माइकल्सको प्रदर्शनलाई विश्वभरका फुटबल समर्थकले प्रसंसा गरेका छन् ।


Published :२४ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media