देउवाले आजै विश्वासको मत लिने

राष्ट्रपाटी न्युज

३ श्रावण २०७८

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको कार्यालयमा प्रस्ताव दर्ता भएको सचिवालय स्रोतको भनाई छ । कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्ताव दर्ता गराएका हुन् ।

यतिबेला कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । बैठकमा देउवाले सभामा विश्वासको मत लिने कार्यसूची थप गर्ने तयारी छ । देउवाले आजै विश्वासको मत लिने निश्चित भएको स्रोतको भनाइ छ ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिएर उनले सरकारको सुरक्षा गर्न खोजेका छन् । प्रतिनिधि सभामा विश्वासको मत पाउन देउवालाई कुल १ सय ३६ सांसदको समर्थन चाहिने हुन्छ । यतिबेला देउवाको पक्षमा काँग्रेस, माओवादी, उपेन्द्र यादव पक्ष जनता समाजवादी र जनमोर्चाको तर्फबाट स्पष्ट १ सय २८ सांसद छन् । एमालेको नेपाल समूहका ८ सांसदले मत दिएमा देउवाले विश्वासको मत पाउनेछन् ।


Published :३ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media