
काठमाडाैं । अमेरिका र इरानबीच जारी द्वन्द्व थप चर्किँदै गएको छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानविरुद्ध लगाइएको नौसैनिक नाकाबन्दी आवश्यक परे ‘अनिश्चितकालसम्म’ जारी राख्न सकिने बताएका छन्।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरानसँगको द्वन्द्वमा वासिङ्टनका प्रमुख उद्देश्यबारे स्पष्ट पारेका छन् । उनका अनुसार अमेरिकी नागरिकका लागि ऊर्जाको मूल्य स्थिर राख्नु, इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु तथा वर्तमान द्वन्द्वबाट अमेरिकालाई अझ बलियो अवस्थामा पुर्याउनु वासिङ्टनका मुख्य प्राथमिकता हुन्।
तर, इरानले भने हर्मुज जलडमरूमार्गमा समुद्री यातायात सामान्य रूपमा सञ्चालन भइरहेको अमेरिकी दाबी अस्वीकार गरेको छ। इरानी सेनाले आफ्नो अनुमति नलिई कुनै पनि जलपोत वा जहाजलाई उक्त रणनीतिक जलमार्गबाट पार हुन नदिइने दाबी गरेको छ।
यसैबीच, हर्मुज जलडमरू मार्ग हुँदै यात्रा गरिरहेका अबु धाबी नेसनल आयल कम्पनीका दुईवटा जलपोतलाई लक्षित गरी आक्रमण भएको छ। संयुक्त अरब इमिरेट्सका सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणमा कुनै मानवीय क्षति भएको छैन। घटनास्थलको अवस्था नियन्त्रणमा रहेको पनि जनाइएको छ।
उता, यमनका हुथी विद्रोहीले पश्चिमी क्षेत्रमा रहेको महत्वपूर्ण बाब अल–मन्देब जलडमरूमार्गलाई लक्षित गरी दुईवटा मिसाइल प्रहार गरेका छन्। हुथीसम्बद्ध सबा समाचार एजेन्सीका अनुसार उक्त आक्रमण रणनीतिक समुद्री मार्गमा दबाब बढाउने उद्देश्यले गरिएको हो।
खाडी क्षेत्रमा बढ्दै गएको तनावले अन्तर्राष्ट्रिय समुद्री व्यापार र विश्वव्यापी ऊर्जा आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ। हर्मुज र बाब अल–मन्देबजस्ता महत्वपूर्ण जलमार्गमा तनाव थप बढेमा विश्व बजारमा तेलको मूल्य तथा आपूर्ति शृङ्खलामा समेत प्रत्यक्ष प्रभाव पर्न सक्ने आँकलन गरिएको छ।