एमालेमा विधान महाधिवेशन गर्ने मिति तय

राष्ट्रपाटी न्युज

१७ श्रावण २०७८

काठमाडौं– नेकपा (एमाले)ले भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ ।
तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आइतबार बसेको स्थायी कमिटी बैठकले आगामी २०७८ भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

एमाले सङ्गठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ । स्थायी कमिटीका प्रस्तावलाई अन्तिम रुप दिन केन्द्रीय कमिटीको बैठक आगामी साता बोलाइने ज्ञवालीले वताए ।

स्थायी कमिटी बैठकले आगामी असोजको पहिलो हप्ता देशका सबै वडाहरुमा वडा अधिवेशन र दोस्रो हप्ता सबै पालिकाहरुमा पालिकास्तरमा पार्टी अधिवेशन गर्ने निर्णय गरेको छ ।

बैठकले हालै दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदी पार गरिरहेको बेला तुइनको लठ्ठा चुँडाउने र उर्लिंदो भेलमा बेपत्ता पार्ने गरी घटित घटनाको निन्दा गर्दै उक्त घटनाको सत्यतथ्य अविलम्ब नेपाली जनतासामु प्रस्तुत गर्न सरकारको ध्यानाकर्षण गराएको छ । एमालेले त्यस विषयमा भारतीय पक्षसँग जानकारी माग गर्न, दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउनसमेत माग गरेको छ ।


Published :१७ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media