खेलकुद महासंघको ऐतिहासिक घोषणा, खेलनीति सम्मेलन आयोजना गर्ने

राष्ट्रपाटी न्युज

३० कार्तिक २०७८

काठमाडौं। यही मंसिर ५ र ६ गते नेकपा एमालेको जनबर्गिय संगठन नेपाल खेलकुद महासंघ (नेकोस) ले काठमाडौंमा खेल नीति सम्मेलन आयोजना गर्ने भएको छ। सोमबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले सम्मेलनको बारेमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले राजनीतिक संगठन भएका हिसाबले महासंघले नीतिगत रुपमै काम गर्नुपर्ने र वर्तमान खेलकुदमा देखिएका अन्यौलता र समस्यालाई उक्त सम्मेलनले हल गर्ने विश्वास व्यक्त गरेका छन्। खेलकुदमा देखिएको नीतिगत अन्यौलता र समस्यालाई समाधान गर्न उक्त सम्मेलनको आयोजना गर्न लागिएको उनले बताएका छन् ।

उक्त सम्मेलनको उद्घाटन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

सम्मेलनमा खेलाडी, संघका पदाधिकारी, राखेप र प्रखेपका पदाधिकारी, विश्व विद्यालयका अफिसियल, खेल बिज्ञ, नीति क्षेत्र, पत्रकार, जिल्ला, नगर, खेलकुद समितिका पदाधिकारी, पूर्व खेलकुद मन्त्री तथा सदस्य सचिव, विभिन्न राजनीतिक दलका खेलकुद संगठनका पदाधिकारी र नेकोसको विभिन्न तहमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यको सहभागीता रहने आयोजकले जानकारी दिएको छ।

पछिल्लो समय तत्कालिन युवा संघका अध्यक्ष रमेश पौडेलले महासंघको जिम्वेवारी लिए संगै यो संगठन अझ सशक्त र जुझारु बनेको देख्न सकिन्छ। तत्कालिन अबस्थामा एमाले र माओबादी एकता पश्चात गतिबिधिको हिसाबले शुन्य प्राय बनेको यो संगठन हाल सक्रिय र रचनात्मक बनेको देख्न सकिन्छ।

दृष्टिकोण बिहिन रहेर अलमलमा परेको नेपाली खेल क्षेत्रमा नयाँ र सिर्जनात्मक प्रयोगको रुपमा खेल नीति सम्मेलन आयोजना गर्ने निर्णय गरेर रमेश पौडेलको नेतृत्वको खेलकुद महासंघले ऐतिहासिक काम गर्न लागेको एक जना राष्ट्रिय खेलाडीको भनाइ छ। सम्मेलनबाट कस्तो नीति निर्माण हुन्छ भन्ने कुरा सबैको चासोको बिषय रहेको छ।


Published :३० कार्तिक २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media