
काठमाडौँ । स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्युमै दुई गोल गरेपछि नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । समूह ‘आई’ अन्तर्गतको खेलमा नर्वेले उत्कृष्ट खेल प्रदर्शन गर्दै इराकलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
लामो समयको प्रतीक्षापछि विश्वकपमा फर्किएको इराकले बलियो मनोबल देखाए पनि नर्वेको आक्रामक रणनीतिसामु अंक जोड्न सकेन । नर्वेका लागि भने २८ वर्षपछि विश्वकपमा प्राप्त यो जित निकै महत्वपूर्ण बनेको छ ।
सन् १९९८ पछि नर्वेले पहिलो पटक विश्वकप खेलेको हो । खेलको २९ औं मिनेटमा म्यानचेस्टर सिटीका स्टार हालान्डले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३९ औं मिनेटमा इराकका आइमेन हुसेनले उत्कृष्ट हेडरमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
इराकले बराबरी गोल गरेको खुसीयाली मनाउन नपाउँदै ४ मिनेटपछि नै हालान्डले व्यक्तिगत दोस्रो गोल गरे । ४३ औं मिनेटमा इराकी डिफेन्सको गल्तीको फाइदा उठाउँदै हालान्डले टोलीलाई २–१ को अग्रता दिलाए ।
विश्वकपको पहिलो खेलमै दुई गोल गर्दै हालान्डले खेलमा आफ्नो बलियो छाप छोडे । दोस्रो हाफमा नर्वेले खेललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राख्यो । खेलको ७६ औं मिनेटमा लियो ओस्टिगार्डले उत्कृष्ट हेडरमार्फत गोल गर्दै नर्वेको अग्रता ३–१ बनाए ।
खेलको इन्जुरी समय (९६ औं मिनेट) मा इराकका खेलाडीबाट आत्मघाती गोल भएपछि नर्वेले ४–१ को सहज जित सुनिश्चित गरेको हो ।