बूढानीलकण्ठ नगरपालिकामा एकीकृत घुम्ति शिविर अभियान सुरु

बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिकाले वडा स्तरीय एकीकृत घुम्ति शिविर शुरुवात गरेको छ । नगर प्रमुख उद्धव प्रसाद खरेल तथा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्किको नेतृत्वमा बूढानीलकण्ठ नगरपालिकाले वडा-वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरी जनताको काम घरदैलोमा अभियान सुरु गरेको हो । पौष १ गते बाट पौष १५ गते सम्म सञ्चालन हुने अभियान वडा नं ०१ कार्यालयमा एक विशेष कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको छ ।

नगरपालिकाले घरबाट बाहिर आउन नसक्नेलाई घर-घरमै, घर बाट बाहिर आउनेलाई वडा-वडाबाट घुम्ति शिविर मार्फत सेवा प्रदान गरिरहेको छ । वडा-वडामा पुगेर व्यवसाय दर्ता, स्वास्थ्य शिविर, कृषि तथा पशु सेवा शिविर, महिला हिंसा न्युनीकरण अभियान, अपाङ्ग, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, स्वास्थ्य शिविर, योजना सम्झौता तथा भइपरि आएका नागरिक समस्या एउटै थलोबाट सम्बोधन गर्ने गरी एकीकृत घुम्ति शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले बताएका छन् ।

जनतालाई नगरपालिकाको केन्द्रसम्म पुग्नसमेत कठिन भइरहेको समयमा नगरपालिकाले प्रदान गर्ने सबै कसिमका सेवा सुविधासहित वडा-वडामा पुगेर घुम्ति शिविर सञ्चालन गरिएको नगर प्रमुख उद्धव प्रसाद खरेलले जानकारी दिएका छन् ।

वडा नं.१ का अध्यक्ष सुरेन्द्र लामाले सिंहदरबारको अधिकार घरघरमा पुर्‍याउने लक्ष्य परिपूर्ती गर्दै वडा वासीहरुको घरघरमा पुगि सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती शिवीर सञ्चालन गरिएको बताएका छन् ।

एकीकृत घुम्ति सेवालाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ ।


Published :१ पुष २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media