सुवास न्यौपानेद्वारा नेशनल प्याब्सनको अध्यक्षमा उम्मेदवारी घोषणा

राष्ट्रपाटी न्युज

१८ फाल्गुन २०७८

काठमाडौँ । निजी विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को अध्यक्ष पदमा सुवास न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्।

२०५४ सालदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएका वर्तमान महासचिव तथा एपेक्स लाईफ स्कुलका संस्थापक कार्यकारी निर्देशक न्यौपानले राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै आगामी राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका हुन्।

उनले निजी विद्यालयको हक, हित र सम्वर्द्धन गर्न, कम्पनी अन्तर्गतको निजी स्वामित्वको संरक्षण गर्न, २१ औँ शताब्दीको समयसापेक्ष र सीपमूलक तथा जीवनोपयोगी शिक्षालाई प्राथमिकताका साथ अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताए।

त्यस्तै उनले निजी र सामुदायिक विद्यालयबीचको विभेदकारी नीतिको अन्त्य गर्न, निजी विद्यालयमा देखिएका समस्या समाधान गर्न, विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने सक्षम जनशक्ति तयार गर्न आफू लागि पर्ने बताए।

उनले भने, ‘यस आसन्न महाधिवेशन नेशनल प्याब्सनको आसन्न महाधिवेशनमा मैले अध्यक्षको रुपमा आफूलाई उम्मेदवारी घोषणा गरेको छु। केन्द्रिय अध्यक्षको रुपमा मेरो उम्मेदवारी निजि विद्यालयको हक हित र सम्वर्द्धन गर्न, कम्पनी अन्तर्गतको निजी स्वामित्वको संरक्षण गर्न, २१ औँ शताब्दीको समयसापेक्ष र सीपमूलक तथा जीवनोपयोगी शिक्षालाई प्राथमिकताका साथ अघि बढाउन हो।’

त्यस्तै, विगत साढे दुई दशकदेखि निरन्तर यस संगठनको इमान्दार सिपाही बनी विभिन्न तह र तप्कामा बसेर संगठनको शुद्धिकरण र सुदृढीकरणमा आफ्नो योग्यता, क्षमता र कौशलताको उपयोग गरी जिम्मेवारीलाई न्याय पनि गरेको सन्दर्भ स्मरण गराउन चाहन्छु, न्यौपानेले भनेका छन् ।

नेशनल प्याब्सनको राष्ट्रिय महाधिवेशन आगामी फागुन २२ र २३ गते बाँकेको नेपालगञ्जमा हुँदैछ।


Published :१८ फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media