भक्तपुर। सूर्यविनायक नगरपालिका–७ गुण्डूस्थित पर्यटकीय स्थान घ्याम्पे डाँडामा निर्माण भएको पाँच हजार लिटर पानी अट्ने घ्याम्पो उद्घाटन गरिएको छ ।त्यस ठाउँको नाम घ्याम्पे डाँडा भएपनि घ्याम्पो नुहँदा यसबारेमा आन्तरिक पर्यटकले चाँसो राख्न थालेका थिए।
ऐतिहासिकता झल्किने र पर्यटकलाई आकर्षित गर्ने लक्ष्यले निर्माण गरिएको घ्याम्पोको नेकपा एमालेका पोलिब्यूरो सदस्य एवं संघीय सांसद महेश बस्नेतले उद्घाटन गरेका छन् ।
सूर्यविनायक नगरपालिका वडा नं. ७ र ८ को सिमानामा रहेको घ्याम्पे डाँडामा सूर्यविनायक नगरपालिकाको रु. २० लाखको बजेट वडा नं. ७ मार्फत विनियोजित गरि त्यसमा पाँच लाखको उपभोक्तामार्फत थप गरि कूल रु. २५ लाखको लागतमा घ्याम्पो निर्माण गरिएको हो । हेर्दा निकै आकर्षक देखिने घ्याम्पो तलैदेखि फलामको डण्डी हालेर सिमेन्टबाट पक्की रुपमा २२ फिटको उचाईमा निर्माण गरिएको छ ।
धेरै पहिला यस क्षेत्र स्थानीय ब्राह्रमण समुदायको कुस बिर्ताको नामबाट चर्चामा रहदै पुरानो छाप नाम रहेको यस ठाउँलाई २०२१ सालको नापी पछि चिहान डाँडाको नामबाट चिन्न थालेका थियो । २०३५ साल पछि भने यो डाँडाको नाम घ्याम्पे डाँडा रहन गएको स्थानीय बताउँछन् ।