कपनमा एमालेको विरासत जोगिएला !?

राष्ट्रपाटी न्युज

१० चैत्र २०७८

काठमाडौ । गत स्थानीय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेले अत्याधिक मत सहित विजय हासिल गर्‍यो। नेकपा एमालेको तर्फबाट मेयर पदका उमेद्वार उद्दव प्रसाद खरेलले ४३१९ मतले नेपाली काङ्ग्रेसका राजु श्रेष्ठ माथी बिजय हासिल गरे। खरेलले १३२४६ मत ल्याउदा श्रेष्ठले जम्मा ८९२७ मत मात्र ल्याउन सके । तत्कालीन अबस्थामा चर्चित मानिने नेकपा माओवादीका उमेद्वार रविन अधिकारिले ३७९० मत ल्याएका थिए ।

एमालेले नगरपालिकाको नेतृत्व सहित  धेरैजसो वडामा विजय हासिल गरेको अबस्थामा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १०,११ र १२ रहेको कपन क्षेत्रमा समेत वडाध्यक्ष सहित सबै वडा सदस्यमा विजय हासिल गर्‍यो । समग्रमा भन्दा पुरै कपन एमालेले जित्यो । खास गरि माओवादी द्वन्द्व र त्यसपछि अत्याधिक जनसंख्याको वृद्धि भएर बस्ती बिस्तार भएको यो क्षेत्रले एमालेको नेतृत्व पायो ।अव्यवस्थित सहरीकरण र निर्माण कार्यले पहिले नै कपनको सहि र व्यबस्थित विकास हुन सकेको थिएन ।कपनलाई जापान बनाउने अभियान चलेपनि त्यो दीर्घकालीन भन्दा अल्पकालीन जस्तो देखिएको थियो । त्यसैले पाँच बर्ष अगाडि निर्बाचित भएको नेतृत्व संग धेरै चुनौती र अबसरहरु थिए । कपन क्षेत्रलाई सबै किसिमको बिकास चाहिएको थियो। भौतिक पुर्बाधार निर्माण , व्यबस्थित सहरीकरण , स्वास्थ्य , शिक्षा , सुरक्षा , खेलकुद  , कपन बाढी समस्या समाधान , धोबिखोला कोरिडोर निर्माण लगायत विविध अपरिहार्य काम गर्नुपर्ने थियो ।

अहिले करिब पाँच बर्ष पूरा हुनै लाग्दा कपन क्षेत्रका वडाध्यक्षहरुले आफूले घोषणा पत्रमा उल्लेख गरेको झन्डै ८०% काम सकिन लागेको दावी गर्दै छन् भने बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्दव खरेलले भौतिक निर्माण तर्फ झन्डै ७०% काम सकिएको समेत दावी गरेका छन् । बूढानीलकण्ठ १० का वडाध्यक्ष नबराज भट्टराइ आफ्नो वडामा धेरै जसो काम सम्पन्न भैसकेको भन्दै कपन डुबान समस्या समाधानको लागी समेत काम भैरहेको र ठेकेदार कम्पनीले ढिला गरेको दावी गर्छन् । सिद्देश्वर मन्दिर क्षेत्रको बिकासका लागी समेत काम हुँदै गरेको भन्दै कपनको विकासमा कुनै कसर बाकी नराखिएको दावी गर्छन् ।

अब कस्ले जित्ला ?   
स्थानीय तहमा बूढानीलकण्ठ नगरपालिका लगायत धेरै ठाउँमा नेकपा एमालेले जिते पनि संघीय निर्वाचनमा यस क्षेत्रबाट नेपाली काङ्ग्रेसका गगन थापाले जिते ।स्थानीय र संघीय निर्वाचनमा फरक फरक पार्टीले जिते पछि दुबै पक्षले एक अर्कोलाई निशेध गर्न खोजे ।फलस्वरूप गगन थापाले आफूलाई अपमान महसुस भएको भन्दै पटक पटक भाषण समेत गरेका छन् । त्यसैले यसपाली भने बेलै देखि उम्मेदवार तय गर्ने , आवश्यक परे गठबन्धन गरेर भएपनि बूढानीलकण्ठ क्षेत्रमा जित्नै पर्छ भन्ने अभियानमा गगन थापाको  रहेको एकजना जिल्ला स्तरीय काङ्ग्रेस नेताको भनाइ छ। त्यसैले काङ्ग्रेसले बूढानीलकण्ठका सबैजसो वडामा करिब करिब  सर्वसम्मत वडाध्यक्षको उम्मेदवार चयन  गरेको उनको दावी छ।

वडा नम्बर १० 
बिगत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका नबराज भट्टराईले २४१० मत ल्याइ विजय भएका थिए भने काङ्ग्रेसका डिल्ली प्रसाद डोटेलले १०३३ मत ल्याइ १३७७ मतले पराजित भएका थिए । यसपाली भने काङ्ग्रेसले पुर्ब शिक्षक डोर प्रसाद आचार्यलाई उम्मेदवार बनाउने करिब निश्चित भएको बताइएको छ भने एमालेको तर्फबाट पनि बर्तमान वडाध्यक्ष नबराज भट्टराई नै दोहोरिने सम्भावना बढी  छ। यूवा, प्रस्ट वक्ता तथा अझै पनि जनताको बिच लोकप्रिय भएकाले नबराज भट्टराई संग चुनाव लड्न आचार्य नै उपयुक्त उम्मेदवार हुने ठहर काङ्ग्रेसले गरेको एकजना स्थानीय काङ्ग्रेस नेता बताउँछन् ।तुलनात्मक रूपमा एमाले बलियो रहेको मानिने यस वडामा राम प्रसाद लुइटेलले वडाध्यक्षको टिकट पाउने बताइएपनी अहिले उनी यो रेसबाट बाहिरिएपछी यस वडाको चुनाव पनि रोचक मोडमा पुगेको छ।
वडा नम्बर ११
बिगत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका राजु अधिकारीले १२७५ मत ल्याएका थिए भने काङ्ग्रेसका अच्युत प्रसाद पौडेलले १०५६ मत ल्याइ २१९ मतले पराजित भएका थिए। तुलनात्मक रूपमा काङ्ग्रेस बलियो रहेको आकलन गरिएको भएपनि अन्त्यमा जित भने एमालेले हात पारेको थियो ।यसपाली पनि एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार राजु अधिकारि नै बन्ने करिब निश्चित नै छ भने काङ्ग्रेसबाट राधेश्याम कार्कीको सम्भावना बलियो छ।

यस वडामा नेकपा एमालेको विभाजनबाट बनेको एकीकृत समाजवादीको केहि  प्रभाव समेत देखिएको छ । एकजना वडा सदस्य सहित तत्कालीन अबस्थामा एमालेको केहि चर्चित स्थानीय  नेताहरू समेत समाजबादी तिर लागेका छन् ।फेरि यस वडामा पहिले देखी नै काङ्ग्रेस भित्र नै एक अर्को लाई असहयोग गर्ने परिपाटी छदैछ । यसपाली पनि त्यो परिश्थिती बिकास हुन सक्ने आकलन एकजना स्थानीय काङ्ग्रेस नेताले गरेका छन् । तसर्थ यस वडामा पनि चुनावी माहोल पछि मात्र थप आकलन गर्न सकिने अवस्था छ ।
वडा नम्बर १२
बिगत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका शम्भु प्रसाद भट्टराईले १३८४ मत ल्याएका थिए भने काङ्ग्रेसका होम नाथ तिमल्सिनाले १०२७ मत ल्याइ ३५७ मतले पराजित भएका थिए। यस पटक पनि नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा शम्भु प्रसाद भट्टराई उठ्ने करिब निश्चित नै छ भने नेपाली काङ्ग्रेसको तर्फबाट सुनित चालिसेको सम्भावना धेरै छ। पुरुषोत्तम  नेपालले एकीकृत समाजबादीको तर्फबाट वडाध्यक्षको उम्मेदवार दिने बताउदै आएका छन् ।गठबन्धन गर्ने अबस्थामा समाजबादीहरुले यो वडा दावी गर्ने अवस्था समेत छ। नेकपा एमालेको गढ मानिने गरिए पनि यो पटक यस वडामा एकिकृत समाजबादीको समेत केहि प्रभाव देखिएको छ ।तर आफू वडा र  जनताको काममा निरन्तर लागेकोले वडाबासीहरुले  आफूलाई बिजय गराउने कुरामा ढुक्क रहेको बर्तमान वडाध्यक्ष शम्भु भट्टराईको दावी छ ।काङ्ग्रेसले जितको दावी गर्ने, समाजवादीहरुले एमालेलाई हराएर देखाउन खोज्ने , अनि गठबन्धनको समेतको कुराले यो वडामा हुने चुनाव  नगरपालिकाकै सर्बाधिक चासोको चुनाब हुने भएको छ।

अन्त्यमा, बूढानिलकण्ठ नगरपालिका र कपन क्षेत्रमा निर्वाचनको माहोल कसरि विकास हुन्छ भन्ने कुरा वर्तमान सत्ता गठबन्धन बन्छ या अन्य नयाँ समीकरण बन्छ भन्ने कुराले निर्धारण गर्नेछ। गत स्थानीय निकायको निर्बाचनको मतलाई हेर्ने हो भने एमाले वडा नम्बर १० मा अलि बढी सुरक्षित देखिन्छ। वडा नम्बर १२ र ११ मा गठबन्धन बन्ने अबस्था आएमा एमालेको लागि चुनौतिपूर्ण देखिन्छ भने एक्ला एक्लै लड्ने अवस्थामा भने केहि राहत मिल्ने अवस्था देखिन्छ। देशव्यापी रुपमा नेकपा एमालेलाइ हराउने एकीकृत समाजबादीको नीति अनुरुप एमालेले पक्का जित्ने जस्तो ठाउमा कांग्रेसलाइ भोट दिएर जाने अबस्था आएमा कपन क्षेत्रमा आफ्नो विरासत जोगाउनु नेकपा एमालेको लागि चुनौतिपूर्ण हुनेछ।


Published :१० चैत्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media