शानदार जितका साथ नेपाल त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनलमा

राष्ट्रपाटी न्युज

१७ चैत्र २०७८

काठमाडौँ। नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई ३७ रनले हरायो । लगातार तेस्रो जित निकालेको नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो । लिग चरणको अन्तिम खेलमा नेपालले शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो । दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्‍यो ।

जितमा लागि २०४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.४ ओभरमा सबै विकेट गुमाएर १६६ रनमा समेटिएकाे हो । पीएनजीका लागि चाल्र्स अमिनीले सर्वाधिक ६२ रन बनाए । टोनी उराले ४३, सेसे बाउले २५, नोरमान भानुले १७ र रिले हेकुरेले ६ रन बनाए । बलिङमा नेपालका करण केसीले ह्याट्रिकसहित पाँच विकेट लिएका थिए । सोमपाल कामी र अविनास बोहराले दुई दुई तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २०३ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६६ रनको अर्धशतकीय इनिङ्स खेलेपछि नेपालले जितका लागि बलियो योगफल तयार पारेको थियो । ऐरीले सर्वाधिक ६६ रन बनाउने क्रममा ३३ बलमा तीन चौका र चार छक्का हानेका थिए । रोहित पौडेलले ४१ रन बनाए । रोहितले २३ बलमा चार चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाएका थिए ।

ओपनर आशिफ शेखले ३८ र आदिल अन्सारीले ३१ रन बनाए । अलराउन्डर आदिलले यसै खेलबाट सिनियर टोलीमा डेब्यू गरेका हुन् । अर्का ओपनर कुशल भुर्तेल १७ रनमा आउट भए । बलिङमा पीएनजीका कवुवा मोरेयाले तीन, रिले हेकुरेले दुई तथा नोरमान भानु र नोसईना पोकनाले एक एक विकेट लिए ।
लगातार तीन खेल जितेपछि नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । लगातार तीन खेल हारेको पीएनजीले खाता खोल्न सकेको छैन । मलेसिया दुई अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तीन टोली सहभागी यस सिरिजमा हरेक टोलीले एक आपसमा दुई दुई खेल खेलेपछि शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । शुक्रबार पीएनजी र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल सोमबार हुनेछ ।


Published :१७ चैत्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media