कालिकालाई हराउँदै आयोजक वनदेवी सेमिफाइनलमा

काठमाडौं । आयोजक वनदेवी युवा क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार प्रतियोगिताको चौथो दिन धनगढी रंगशालामा भएको खेलमा कालिका स्पोर्टस एकेडेमीलाई २–० ले हराउँदै आयोजक वनदेवी अन्तिम चारमा पुगेको हो ।

वनदेवीलाई सेमिफाईनलमा पुराउनका लागि चन्द्रा भण्डारीले दुबै गोल गरिन् । पहिलो हाफको ६ औं मिनेटमा उनले गोल गर्दै आफ्नो टीमलाई १–० को अग्रता दिलाईन् ।

खेलको निर्धारित समय सकिनु एक मिनेट अगाडीसम्म एक गोलको अग्रतामा रहेको वनदेवीका लागि चन्द्राले नै खेलको ८९ औं मिनेटमा अर्को गोल थपिन् ।

त्यसपछि कुनै पनि गोल हुन नसकेपछि वनदेवीले २–० ले नतिजा आफ्नो पक्षमा पार्यो । सेमिफाईनलमा अव वनदेवीले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी वनदेवीकी चन्द्रा भण्डारी प्लेयर अफ द म्याच भईन् । उनले नगद ५ हजार सहित ट्रफी पाइन् ।

वनदेवी युवा क्लबको आयोजनमा भईरहेको प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो सेमिफाईनल खेल हुनेछ । पहिलो सेमिफाईनल खेलमा विभागीय टोलीहरु एपिएफ र नेपाल आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन् ।

बिहीबार दोस्रो सेमिफाईनल खेल हुनेछ । विहीवारको सेमिफाईनलमा आयोजक वनदेवी युवा क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् ।

वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।

प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त  गर्नेछ ।

धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो ।


Published :६ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media