बुढानीलकण्ठमा भोलिदेखि तेस्रो विश्व मिक्स बक्सिङ च्याम्पियनसिप–२०२६ आयोजना हुने

राष्ट्रपाटी न्युज

साउन १२, २०८३

बुढानिलकण्ठ। नेपाल मिक्स बक्सिङ एसोसिएसन (NMBA) को आयोजनामा तथा बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा तेस्रो विश्व मिक्स बक्सिङ च्याम्पियनसिप–२०२६ आयोजना हुने भएको छ।

यही साउन १३, १४ र १५ गते (जुलाई २९, ३० र ३१) बुढानीलकण्ठ–२ स्थित मितेरी क्लबमा प्रतियोगिता आयोजना गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । प्रतियोगितामा नेपालसहित ११ देशका खेलाडीहरू सहभागी हुनेछन् भने उद्घाटन समारोह साउन १३ गते बिहान ११ बजे हुने तय गरिएको छ। प्रतियोगितामा झन्डै ५६ लाख बराबरको बजेट खर्च हुने आयोजकले जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनिता लामा, वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ तथा वडा नं. ८ का वडा अध्यक्ष एवं बुढानीलकण्ठ नगर खेलकुद विकास समितिका अध्यक्ष सुमन तामाङ, बुढानीलकण्ठ नगर खेलकुद विकास समितिका उपाध्यक्ष दिपक तामाङ्ग लगायत नेपाल मिक्स बक्सिङ एसोसिएसनका पदाधिकारी, खेलकर्मी, खेलाडी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

आयोजकले प्रतियोगिताले नेपालमा मिक्स बक्सिङ खेलको विकास र प्रवर्द्धनमा टेवा पुर्‍याउनुका साथै नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ। साथै, खेल पर्यटनको प्रवर्द्धन गर्दै बुढानीलकण्ठलाई अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न पनि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

आयोजकले प्रतियोगितालाई सफल बनाउन खेलप्रेमी, स्थानीयवासी, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवाला निकायलाई उपस्थित भई साथ, सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।


Published :साउन १२, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media